जनता टाइम्स

२७ कार्तिक २०७८, शनिबार ०७:५५

जोरपाटी–गोकर्ण–सुन्दरीजल सडक ६ वर्षदेखि अलपत्र : यात्रु हिउँदमा धुलो र वर्षामा हिलोले प्रभावित


काठमाडौं,२७ कार्तिक । काठमाण्डौको जोरपाटी–गोकर्ण–सुन्दरीजल सडक विस्तार सुरु भएको छ वर्ष बितिसक्दा पनि सम्पन्न हुन सकेको छैन ।

आर्थिक वर्ष २०७५र७६ मै सक्ने गरी २०७२ सालमा ठेक्का भएको सात किलोमिटर सडक छ वर्षदेखि अलपत्र छ । सडक धुलाम्य हुँदा स्थानीय बासिन्दाको स्वास्थ्यमा समस्या देखिन थालेको छ । धुलोले नाक पोल्ने, घाँटी खसखसाउने जस्ता समस्या हुने गरेको गोकर्णेश्वर नगरपालिका–४ चौतारा खरिबोटकी राधा श्रेष्ठको गुनासो छ ।

केन्द्रबिन्दुबाट दायाँबायाँ ११/११ मिटर गरी २२ मिटरको सडक बनाउने ठेक्का काठमाण्डौ उपत्यका सडक विस्तार आयोजनाले गरेको थियो ।

सात किलोमिटर दूरीमा पर्ने झण्डै ९ सय घरका धनीले ठेक्काअनुसार विस्तार गर्ने भए मुआब्जा दिनुपर्ने माग गरेपछि घर भएको ठाउँमा केन्द्रबिन्दुबाट दायाँबायाँ सातरसात मिटर विस्तार गर्ने, सार्वजनिक जग्गा भएका ठाउँमा ११/११ मिटर नै विस्तार गर्ने सहमति भएको नगरपालिकाका प्रवक्ता मनोजकुमार ढुङ्गानाले जानकारी दिनुभयो ।

यो सहमति अनुसार पनि ठाउँठाउँमा काम रोकिँदा वर्षौँदेखि स्थानीयवासी र यात्रु हिउँदमा धुलो र वर्षामा हिलोले प्रभावित छन् । नगरपालिकाले केन्द्रबिन्दुबाट दायाँबायाँ सातरसात मिटर विस्तार गर्ने सहमति गरेको दुई वर्षसम्म पनि सडक अलपत्र छ । चन्द्रमती, सूर्यमती, कोलमती, जम्बोत्तरी र मेलम्चीको सुरुङ निस्कने खोल्सामा पुल तथा पैदल मार्ग समेत छैन ।