जनता टाइम्स

२७ कार्तिक २०७८, शनिबार १६:१८

गोरखा एमालेले सर्वसम्मत चयन गर्यो १५ जना महाधिवेशन प्रतिनिधि


गोरखा, कात्तिक २७ । देशभर वडा, नगर र गाउँ अधिवेशन सम्पन्न गरेको एमालेले आज देशभर एकै पटक १०औँ राष्ट्रिय महाधिवेशन प्रतिनिधि छनौट गर्दैछ । महाधिवेशन प्रतिनिधिका लागि केही जिल्लामा चुनाव हुनेदेखि चरम विवाद पनि उत्पन्न भइरहेको छ ।

तर, १५ जना महाधिवेशन प्रतिनिधि छनोटका लागि ३५ जनाको उम्मेद्वारी परेको गोरखामा भने सर्वसम्मत रुपमा चयन भएका छन् । दुई निर्वाचन क्षेत्र रहेको गोरखामा क्षेत्र नम्बर १ बाट दुई महिलासहित ६ जना, निर्वाचन क्षेत्र नम्बर २ बाट दुई महिलासहित ८ जना र उत्पीडित वर्गबाट १ जना गरी जम्मा १५ जना प्रतिनिधि छनोट भएका हुन् ।

महाधिवेशन प्रतिनिधिका लागि गोरखाको दुई निर्वाचन क्षेत्र र उत्पीडित वर्गबाट गरी जम्मा ३५ जनाको उम्मेद्वारी परेको निर्वाचन समितिले जनाएको छ । छनोट हुने प्रतिनिधिको संङ्ख्या भन्दा उम्मेद्वारी दिनेको संख्या दोब्बर भन्दा बढी भए पनि पार्टीका जिल्लास्तरीय शीर्ष नेताले सम्पूर्ण उम्मेद्वारसँग छलफल गरेर सर्वसम्मत प्रतिनिधि छनोट गरेका हुन् ।

क्षेत्र नं १ बाट महिलामा सम्झना देवकोटा, मिना बरामसहित खुल्ला तर्फ सुरेन्द्र बहादुर थापा, गोपाल पाण्डे, कृष्ण नेपाली, सुरेश श्रेष्ठ, मोहन भट्टराई र विशाल थापा सर्वसम्मत चयन हुनुभएको छ । यसैगरी क्षेत्र नं २ मा महिलाहरु पार्वती पाठक, रुपा पन्तसहित प्रेम गुरुङ, बाबुराम थापा, हरि काफ्ले, कमल दानी प्रतिनिधि चयन हुनुभएको छ ।

पार्टीको केन्द्रीय नीतिअनुसार उत्पीडित दलित प्रतिनिधिमा काजीराम रोका चयन हुनुभएको छ । गोरखा जिल्लाभर हाल एमालेको ७ हजार ६९० जना पार्टी सदस्य रहेको छ ।