जनता टाइम्स

२८ कार्तिक २०७८, आईतवार ०९:३२

रौतहटमा सवारी दुर्घटनामा परि ४ जना भारतीय नागरिकको मृत्यु


रौतहट, २८ कार्तिक । रौतहटमा कार दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । जिल्लाको यमुनामाई गाउँपालिका-५ जुनखुनुवामा शनिबार राति करिब १० बजेतिर भारतीय नम्बरको कार दुर्घटना हुँदा चार जना पुरुषको मृत्यु भएको हो ।

युके १२ सी २९०० नम्बरको कार सडक तलको खाल्डोको पानीमा डुबेको अवस्थामा रहेको शनिबार राति घटनास्थलमा खटिएका एसपी विनोद घिमिरेले जानकारी दिनुभयो ।उहाँका अनुसार कारको सिसा फोडेर चार जना पुरुषलाई बाहिर निकालेर अस्पताल पुर्‍याइएको थियो । रौतहटका प्रहरी प्रमुख विनोद घिमिरेका अनुसार दुर्घटनामा ज्यान गुमाउने चारै जना भारतीय नागरिक हुन् । चालकले जाँड रक्सी खाएर कार चलाएकाले दुर्घटना भएको उहाँले बताउनुभयो । गएराति नै भारतीय प्रहरीलाई घटनाबारे जानकारी गराइएको घिमिरेको भनाई छ ।