जनता टाइम्स

२९ कार्तिक २०७८, सोमबार १०:३७

गठबन्धन र प्रधानमन्त्रीका कारण न्यायालयमा समस्या : शंकर पोखरेल


काठमाडौं, कात्तिक २९ । नेकपा एमालेका स्थायी कमिटी सदस्य शंकर पोखरेलले न्यायालयभित्र अहिले देखिएको समस्या गठबन्धन दल र प्रधानमन्त्री शेरबहादुर देउवाको गलत निर्णयका कारण भएको प्रष्ट पार्नुभएको छ । सामाजिक सन्जालमा आफ्नो धारणा राख्दै पोखरेलले न्यायालय शुद्धीकरण खोज्ने हो भने त्यस प्रकरणसँग जोडिएका समष्टिगत विषयमा बहस केन्द्रीत हुनुपर्ने बताउनु भएको छ ।

एमाले नेता पोखरेलले यो विवादमा न्यायाधीशहरुको पृष्ठभूमि, उनीहरु बीचको गुटवन्दी, अदालतभित्रको न्यायिक विकृति, पछिल्लो समयमा भएका विवादास्पद राजनीतिक फैसला र सरकार विस्तारका सन्दर्भमा खास ठाउँका लागि भनेर कोटा छुट्याउने गठवन्धनका नेता र सोही अनुसार मन्त्री नियुक्ति गर्ने प्रधानमन्त्रीले भूमिकाले काम गरेको निश्कर्ष सुनाउनु भयो ।

पोखरेलले न्यायाधीश र वारको आन्दोलन भने खास आग्रह र उद्देश्य केन्द्रीत देखिएको प्रष्ट भएको पनि जनाउनु भएको छ । ‘राजनीतिमा भएको विचलनलाई अलग गरेर न्यायिक क्षेत्रमा सुधार सम्भव छैन । यतिवेला समग्र क्षेत्रमा सुधार आवश्यक छ र तर सबैले पूर्वाग्रह त्याग्नु जरुरी छ । पछिल्ला घटनाक्रमवाट सरकार, संसद र न्यायालय तीनै प्रमुख अंगमाथि जनताको विश्वास टुट्दैछ, गम्भीर बनौं,’ पोखरेलले भन्नुभएको छ ।