जनता टाइम्स

२९ कार्तिक २०७८, सोमबार १०:४५

शंखधर चोकमा आकर्षक शंखधर उद्यान निर्माण


भक्तपुर, कात्तिक २९ । मध्यपुर थिमिस्थित शंखधर चोकमा आकर्षक शंखधर उद्यान निर्माण गरिएको छ । नगर–नगर साझेदारी कार्यक्रमअन्तर्गत काठमाडौं महानगरपालिकाको दुई करोड रुपैयाँ र मध्यपुरथिमि नगरपालिकाको चार करोड रुपैयाँमा सो उद्यान तयार पारिएको हो ।

शंखधर दिवसको अवसर पारेर काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले आइतबार उद्यानको शुभारम्भ गर्दै उपत्यकाका १२ नगरपालिकालाई धार्मिक तथा पर्यटकीय उद्यान तथा बहुद्देश्यीय उद्यान निर्माणका लागि सहयोग गर्दै आएको बताउनुभयोे ।

‘काठमाडौं महानगरपालिका सबैभन्दा जेठो र स्रेत साधन पनि धेरै भएको सांस्कृतिक पालिका हो, आफ्नो नगरपालिका मात्रै बनाएर हुँदैन, छिमेकी नगरपालिका पनि बनाउनुपर्छ तब मात्र महानगरपालिकाको गौरब बढ्छ भनेर नगरपालिका नगरपालिका साझेदारी कार्यक्रम अगाडि बढायौँ, यसको एउटा नमूना यो उद्यान हो,’ उहाँले भन्नुभयो ।

कार्यक्रममा मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले भन्नुभयो, ‘शंखधर उद्यान निर्माणका लागि कूल १३ करोड रुपैयाँको गुरुयोजना स्वीकृत गरेका थियौं, यसमा पहिलो चरणको काम सम्पन्न गर्याौं, बाँकी काम अर्को वर्ष अर्को कार्यकालका लागि बाँकी राखेका छौँ, बाँकी काम सम्पन्न गर्न महानगरले आगामी वर्ष अझ धेरै आर्थिक सहयोग गर्छ भन्ने विश्वास लिएको छु ।’

करिब १३ रोपनी क्षेत्रफलमा ढुंगाको खुट्किला, पानीको झरना, झुण्डिएको बगैँचा, ढुंगेधारा, एम पी थियटर (डवली), पदमार्ग, दुबो रोपेर हरियो बगैँचा, ह्याङ्गिङ गार्डेन, निर्माण भएको छ । गुरुयोजनाअनुसार बाँकी पाँच रोपनीमा हरियो उद्यान, चिल्ड्रेन पार्क, परम्परागत शैलीको सत्तल (पाटी), शङ्खधर साख्वाःको शालिक, ठूलो शंख, रक क्लाइम्मिङ, रोप क्लाइम्मिङ निर्माण गर्ने काम बाँकी भएको छ ।

कार्यक्रममा काठमाडौं महानगरपालिकाका उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले महानगरपालिकाले पनि संस्कृति, सम्पदा संरक्षणमा हातेमालो गर्दै अघि बढेको बताउनुभयो । कार्यक्रममा शंकरापुर नगरपालिकाका प्रमुख सुवर्ण श्रेष्ठ, शङ्खधर साख्वाः प्रतिष्ठानका उपाध्यक्ष ज्ञानराम श्रेष्ठ, मध्यपुर थिमि नपा वडा नं ४ का सदस्य रामकेशरी श्रेष्ठलगायतले शंखधर उद्यान र सम्पदा संरक्षणमा थिमिले चालेको कदमको चर्चा गर्नुभएको थियो । कार्यक्रममा भैरव–काली, महाकाली, लाखे, महामञ्जुश्री, कुमारी नृत्य, नौ बाजा तथा गीत प्रस्तुत गरिएको थियो ।