जनता टाइम्स

२९ कार्तिक २०७८, सोमबार १४:०९

कांग्रेस क्षेत्रीय सभापतिका दाबेदारसहित गाउँपालिका उपप्रमुख वडामै पराजित


नेपालगञ्ज, कात्तिक २९ । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत आइतबार भएको वडा अधिवेशनको निर्वाचनमा पालिकाका जनप्रतिनिधिदेखि उम्मेदवार घोषणा गरेका व्यक्ति नै वडा तहबाटै पराजित भएका छन् ।

कांग्रेसको निर्वाचन समिति बाँकेले दिएको जानकारीअनुसार बाँके निर्वाचन क्षेत्र नम्वर १ को क्षेत्रीय सभापतिमा दाबेदारी प्रस्तुत गरेका डिल्ली गिरी वडामै पराजित हुनुभएको छ । उहाँ बहालवाला क्षेत्रीय समितिको सचिव हुनुहुन्छ । साथै उहाँ संस्थापनइतरका बलियो उम्मेदवार मानिनु भएको थियो । गिरी वडा २ बाट पराजित हुनुभएको हो । सो वडाबाट पार्टीका जिल्ला सचिव तप्त पौडेल र जिल्ला सदस्य पवन शाहसहित १९ जना निर्वाचित हुँदा गिरी १९ जनाभित्र पर्न सक्नुभएन ।

यसैगरी, राप्तीसोनारी गाउँपालिकाकी उपप्रमुखसमेत रहेकी धनीकुमारी खत्री पनि वडामै पराजित हुनुभएको छ । उपप्रमुख खत्री संस्थापन समूहकी हुन् । बाँकेमा वडामै पराजित हुने जनप्रतिनिधिमा खत्री पहिलो हुनुहुन्छ । यसअघि संस्थापनइतरमा रहेकी उपप्रमुख खत्री केही समयअघि संस्थापन समूहमा जानुभएको थियो ।

उपप्रमुख खत्रीले वडा नं ८ बाट क्षेत्रीय प्रतिनिधि पदमा उम्मेदवारी दिनुभएको थियो । राप्तीसोनारी गाउँपालिका ८ मा संस्थापनइतर समूहले वडा कार्यसमितिसहित क्षेत्रीय प्रतिनिधिमा पुरै प्यानल कब्जा गर्दा उपप्रमुख खत्री वडामै पराजित हुनुपरेको हो ।