जनता टाइम्स

२९ कार्तिक २०७८, सोमबार १५:४३

मालेको महासचिवमा सिपी मैनाली पुनः चयन


चितवन, कात्तिक २९ । नेकपा (माले) को महासचिवमा सिपी मैनाली पुनः चयन हुनुभएको छ । मालेको चितवनमा सम्पन्न आठौँ राष्ट्रिय महाधिवेशनबाट मैनाली महासचिवमा चयन हुनुभएको हो ।
महाधिवेशनले मैनालीको नेतृत्वमा ८१ सदस्यीय केन्द्रीय कमिटी बनाउने निर्णय गरेको छ । ‘महाधिवेशनबाट ८१ सदस्यीय केन्द्रीय कमिटी बनाउने निर्णय गरेका छौं । अहिले ५८ जना सदस्य चयन भइसक्नु भएको छ । आगामी बैठकमा बाँकी सदस्यहरूको संख्या थप गर्दै जान्छौँ’, केन्द्रीय सदस्य भगवती घिमिरेले भन्नुभयो । केन्द्रीय कमिटीको आगामी बैठकबाट बाँकी पदाधिकारीको पद विभाजन गरिने उहाँको भनाइ छ ।

नारायणगढस्थित नारायणी कला मन्दिरमा शनिबारदेखि भएको मालेको आठौँ महाधिवेशन सोमबार केन्द्रीय कमिटी चयन गर्दै सम्पन्न भएको हो । महाधिवेशनमा देशभरबाट तीन सय ५० प्रतिनिधि सहभागी भएका थिए । मंगलबार नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको बन्दका कारण मालेले स्थायी कमिटी सदस्य र पोलिट व्युरो सदस्य चयन गर्न भ्याएन । स्थायी कमिटी सदस्य र पोलिट व्युरो सदस्य पनि आगामी बैठकबाट चयन गरिने उनले बताइन् । मालेको विधान अनुसार पोलिट व्युरो सदस्यमा केन्द्रिय कमिटीको एक तिहाई सदस्य रहने व्यवस्था छ ।

महाधिवेशनको बन्दसत्रमा छ वटा कार्यपत्र प्रस्तुत गरिएको थियो । सबै कार्यपत्र सर्वसम्मतीले पास गरिएको घिमिरेले बताइन् । असफल बेलायती संसदीय व्यवस्थालाई नेपालमा पनि खारेज गर्नुपर्ने नीति मालेले लिएको छ ।

११ पुष २०३५ मा स्थापना भएको नेकपा मालेको संस्थापक महासचिव नै सिपी मैनाली हुनुहुन्छ । उहाँ २०३९ सम्म मालेको महासचिव रहनुभयो । २०४७ सालपछि विभिन्न कम्युनिष्ट पार्टी र नेकपा मालेबीच एकीकरण भएर नेकपा एमाले बनेको थियो । २०५४ सालसम्म मैनाली एमाले मै हुनुहुन्थ्यो ।

११ फागुन २०५४ मा एमाले विभाजित भएपछि वामदेव गौतमको नेतृत्वमा बनेको नेकपा मालेतिर मैनाली पनि लाल्नुभयो । फागुन २०५८ मा वामदेव गौतमलगायतका नेता पुनः एमालेमा गएपछि मैनाली मालेमै रहनु भएको थियो ।