काठमाडौं, कात्तिक २९ । नेपाल संवत्का प्रवर्तक शंखधर साख्वाको योगदानलाई चीरस्थायी बनाउन काठमाडौँ महानगर पूर्वाधार र सामाजिक क्षेत्रका कार्यक्रम बनाएको महानगरका प्रमुख विद्यासुन्दर शाक्यले बताउनु भएको छ । नेपाल संवत न्हूँद राष्ट्रिय समारोह समितिले महानगरको वडा १५ र स्थानीय सहयोगमा लखतीर्थमा आयोजना गरेको शंखधर दिवसको समारोहलाई सम्बोधन गर्दै प्रमुख शाक्यले यस्तो बताउनु भएको हो ।
‘शंखधर पार्कमा साख्वाको पूर्ण कदको प्रतिमा स्थापना गरेका छौँ । महानगरको सहयोगमा मध्यपुर थिमीमा निर्माण भएको पार्कको नाम नै शंखधर पार्क नामाकरण गरेका छौँ,’ मेयर शाक्यले भन्नुभयो ।
साख्वाले किसानको ऋण मोचन गरेको कथनसँग जोडिएको लखतीर्थलाई व्यवस्थित गर्न बजेट विनियोजन गरेको जानकारी दिनुभएका शाक्यले योजना कार्यान्वयनमा जाने बताउनु भयो । नेपाल संवत् नेवार समुदायको मात्र नभएर नेपालीको मौलिक संवत् रहेको भन्दै महानगर प्रमुख शाक्यले भन्नुभयो, ‘नेपाल संवत नेवारको मात्र होइन । यो सबै नेपालीको मौलिक संवत् हो । यसको प्रवर्धनका लागि महानगरले आफ्नो दायित्वमा भएका कार्यक्रमलाई प्राथमिकता दिएर कार्यान्वयन गरिरहेको छ ।’
त्यस क्रममा संघीय संसद सदस्य जीवनराम श्रेष्ठले नेपालको मौलिकतासँग जोडिएको नेपाल संवत्लाई व्यावहारिक कार्यान्वयनमा ल्याउन काम गर्नेपर्ने बेला आएको बताउनु भयो । कार्यक्रममा महानगरका प्रवक्ता ईश्वरमान डंगोलले साझा विषय राजनीतिभन्दा माथि हुने भएकोले काम गर्दा बाधा नहुने धारणा राखे । न्हूँद राष्ट्रिय समितिका अध्यक्ष निरञ्जनरत्न शाक्यले नेपाल संवत्लाई व्यावहारिक बनाउन जनाइएका प्रतिबद्धता पूरा गर्नुपर्नेमा जोड दिनुभयो ।
११४२ वर्षअघि शंखधर साख्वाले ऋणमा डुबेका कान्तिपुर र भादगाउँका जनतालाई आफ्नै सम्पत्तिबाट ऋण चुक्ता गरी नयाँ युगको थालनी गर्नुभएको थियो । उहाँको योगदानको सम्मान गर्दै नेपाल सरकारले नेपाल संवत् ११२० कछलाथ्व दशमी अर्थात् ३ मंसिर २०५६ मा साख्वाःलाई राष्ट्रिय विभूति घोषणा गरेको हो । यो दिनलाई ‘शंखधर दिवस’ का रूपमा मनाउने गरिन्छ ।













प्रतिक्रिया दिनुहोस्