जनता टाइम्स

२९ कार्तिक २०७८, सोमबार १८:४५

केन्द्रीय समितिमा देउवाको उदघोष : चुनावसम्म प्रचण्ड–माधवको पार्टी तालमेल गर्न लायक नै रहन्न



काठमाडौं, कात्तिक २९ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी चुनावसम्म नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टी नै रित्तिने अवस्था आफूले देखेको भन्दै तालमेलको संभावना सून्यतिर पुगेको बताउनु भएको छ । पूर्वउपसभापति प्रकाशमान सिंहसहितका नेताहरुले आगामी चुनावमा तालेमलको सहमति गरेको हो भन्दै कडा प्रश्न तेस्र्याउनु भएपछि सभापति देउवाले चुनावमा तालमेल गर्ने सहमति नभएको र परिस्थिति र आफूलाई आएको सूचनाअनुसार चुनावसम्म सत्ता साझेदार यी दुई दल तालमेल गर्न लायक नै नरहने बताउनु भएको हो ।

कांग्रेस केन्द्रीय समितिका एक सदस्यले जनताटाइम्स डटकमलाई दिएको जानकारीअनुसार सिंहले निकै आक्रोश पोखेपछि देउवाले ‘के को तालमेल ? कोसँग तालमेल ? चुनावसम्म प्रचण्ड र माधवको पार्टी नै रित्तिने अवस्था देखेको छु’ भन्दै जवाफ फर्काउनु भएको थियो । ‘प्रधानमन्त्रीले उपचुनाव र राष्ट्रियसभा चुनावमा दुवै दलले हैसियतअनुसार चित्त बुझाए तालमेल हुने, आगामी तीनै तहको निर्वाचनमा भने तालमेल नहुने बताउनु भएको छ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गठबन्धनबीच चुनावी तालमेल हुने सहमति भइसकेको सार्वजनिक अभिब्यक्ति दिएपछि सिंहसहितका एक दर्जन नेताले सभापति देउवासँग बैठकमा आक्रोश पोख्नुभएको थियो । जवाफमा देउवाले दुवै दलका ठूलो हिस्सा एमालेतिरै फर्कने अवस्था आफूले देखिसकेको बताउनु भएको ती नेताले जनताटाइम्स डटकमलाई बताए । ‘उपचुनावसम्म तालमेल हुन सक्छ, त्यस्मा चुनिएका प्रतिनिधि छन, आम चुनावसम्म प्रचण्ड–माधवको पार्टी तालमेल गर्न लायक नै रहन्न, अनि के को तालमेल भन्दै यहाँ कराको ?’ बैठकमा प्रधानमन्त्री देउवाको भनाई उधृत गर्दै एक नेताले जनताटाइम्स डटकमसँग भने ।

बैठकमा देउवाले आज धनकुटामा माओवादी नेता–कार्यकर्ता एमाले प्रवेश गर्ने सूचना र बाँकेमा मंसिर १ गते ठूलो संख्यामा एमाले प्रवेश गर्ने कुराले चुनावसम्म माओवादी केन्द्र र एकीकृत समाजवादीका सवै मान्छे एमालेतिरै पुग्ने र तालमेल गर्दा कांग्रेसलाई घाटा मात्रै हुने निश्कर्ष सुनाउनु भएको हो