जनता टाइम्स

३० कार्तिक २०७८, मंगलवार ०९:०३

आज प्रदेश १ का मुख्यमन्त्रीले विश्वासको मत लिँदै, आफ्नै सांसदमाथि विश्वास नभएपछि होटलमा थुनियो


काठमाडौं, कार्तिक ३० । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले आज प्रदेशसभाबाट विश्वासको मत लिँदै हुनुहुन्छ । पाँच दलीय गठबन्धनको समर्थनमा कात्तिक १६ गते मुख्यमन्त्रीमा नियुक्त भएका राईले विश्वासको मतका लागि आइतबार प्रदेशसभामा प्रस्ताव दर्ता गराउनुभएको थियो । आज दिउँसो साढे १२ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री राईले विश्वासको मत लिन लाग्नुभएको हो ।

यसअघि कात्तिक २३ गते बोलाइएको बैठकमा विश्वासको मतका लागि आवश्यक तयारी नपुगेकोले मुख्यमन्त्री राईको आग्रहमा सभामुख प्रदीप कुमार भण्डारीले आजसम्मका लागि सूचना टाँसेर बैठक स्थगित गर्नुभएको थियो । संविधानको धारा १६८ को (२) बमोजिम नियुक्त मुख्यमन्त्रीले ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने व्यवस्था छ । यही प्रावधान बमोजिम मुख्यमन्त्री राईले आज विश्वासको मत लिन लाग्नुभएको हो ।

मुख्यमन्त्री राईलाई विश्वासको मत दिन प्रदेश सांसदहरूलाई विराटनगरस्थित बिग होटलमा राखेर गठबन्धनका शीर्ष नेताहरूले निर्देशन दिनुभएको छ । प्रमुख प्रतिपक्षी एमालेले गठबन्धनका प्रदेश सांसदहरूलाई फकाएर राईको विपक्षमा मतदान गराउन सक्ने भन्दै गठबन्धन दलका सबै सांसदहरूलाई एकै ठाउँ भेला गरेर राखिएको छ ।नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको पाँचदलीय गठबन्धनको समर्थनमा राई मुख्यमन्त्री नियुक्त हुनुभएको हो ।