जनता टाइम्स

३० कार्तिक २०७८, मंगलवार १३:२७

१६ जिल्लाबाट एमाले महाधिवेशन प्रतिनिधिको विवरण आउन बाँकी (नामसहित)


काठमाडौँ, ३० कात्तिक । नेकपा एमालेले ६० जिल्लाबाट महाधिवेशन प्रतिनिधिहरु छानिएको जनाएको छ । एमालेले आज साँझसम्ममा बाँकी जिल्लाका प्रतिनिधिहरुको विवरण पठाउन निर्देशन दिएको छ ।१६ जिल्लाका प्रतिनिधिको विवरण आउन बाँकी रहेको नेकपा एमाले प्रचार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिनुभयो । थापाले कैलाली, कञ्चनपुर, डोटी, अछाम, बाजुरा, काभ्रेपलाञ्चोक, रसुवा, धनुषा,महोत्तरी, रौतहट, सिरहा, सप्तरी, सुनसरी, धनकुटा, पाँचथर र ताप्लेजुङ जिल्लाबाट पनि महाधिवेशन प्रतिनिधिहरूको विवरण आउन बाँकी रहेको जनाउनुभयो ।

पार्टीले निर्धारण गरेको मापदण्डअनुसार खुल्ला, महिला र उत्पीडित समुदायबाट प्रतिनिधिको छनोट गरिएको छ । हालसम्म केन्द्रीय विभाग, प्रदेश कमिटी, जिल्ला कमिटी, विशेष जिल्ला कमिटी, जनसङ्गठन र प्रवासबाट गरी ९० प्रतिशतको हाराहारीमा प्रतिनिधि निर्वाचित भइसकेको एमालेको केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जनाउनुभयो । प्रतिनिधि चयन भएकाको विरणलाई डिजिटलरुपमा अभिलेखीकरण गरिनेछ ।

गत असोजमा विधान महाधिवेशन सम्पन्न गरेको एमालेले नयाँ नेतृत्व चयनका लागि आगामी मङ्सिर १० देखि १२ गतेसम्म चितवनको सौराहमा राष्ट्रिय महाधिवेशन गर्दैछ । सो पार्टीले एक हजार ९९९ प्रतिनिधि चयन हुने जनाएको छ । त्यसको पाँच प्रतिशतसम्म मनोनित प्रतिनिधि हुन सक्नेछन् ।