जनता टाइम्स

१ मंसिर २०७८, बुधबार १६:११

बाँकेबाट ओलीको उदघोष : कांग्रेस प्रचण्डपथमा बिलय भइसक्यो, अव एमालेलाई रोक्न सक्ने तागत कसैसँग छैन


नेपालगन्ज, मंसिर १ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली काँग्रेस प्रचण्डपथमा बिलय भएको ठोकुवा गर्नुभएको छ । चर्चित नेता पशुपति दयाल मिश्रसहित नेपालगन्जमा विभिन्न पार्टीका ३ हजार ९ सय ९३ जना नेता तथा कार्यकर्तालाई एमालेमा प्रवेश गराउँदै पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका ओलीले यस्तो उदघोष गर्नुभएको हो ।

उहाँले एमालेसँग कुनै पनि पार्टीको तुलना हुनै नसक्ने तथ्यले पुष्टि गरिसकेको बताउनु भयो । ‘काँग्रेस माओवादीको प्रचण्डपथमा बिलय भईसक्यो, प्रधानमन्त्री पदको लागि प्रचण्डपथमा काँग्रेस लागेको छ,’ एमाले अध्यक्ष ओलीले भन्नुभयो, “खोई वीपीको काँग्रेस ?, खोई गणेशमानको काँग्रेस ?, खोई कृष्णप्रसाद भट्टराईको काँग्रेस ? अव भटिदैन प्रचण्डपथमा बिलय भईसक्यो ।”

देशव्यापी रुपमा नेकपा एमालेमा पार्टी प्रवेश गर्ने जनलहर चलेको उल्लेख गर्दै ओलीले भन्नुभयो, ‘जनताको आकर्षण एमालेमा छ । पाँचदलीय गठवन्धनको पार्टीमा प्रवेश गर्न कसैलाई दशा लागेको छैन ।’ स्थिर जनमत नभएको बाँकेमा अब भने कसले निर्वाचन जित्छ भन्ने चुनाव अगाडिनै टुंगो लाग्ने भएको उल्लेख गर्दै उहाँले बाँके जिल्ला अव एमालेको लाल किल्ला भएको बताउनुभयो ।

‘सम्पूर्ण जनताको साझा पार्टी हो एमाले । सहि विश्लेषण र निस्कर्षका साथ मिश्राजीहरु पार्टी प्रवेश गर्नुभएको छ,’ अध्यक्ष ओलीले भन्नुभयो, ‘एमाले प्रादेशिक÷जातीय पार्टी होइन, देश बनाउने पार्टी हो अवको निर्वाचनमा एमालेको आफ्नै सुदृढ वहुमत हुनेछ ।‘ एमाले लोकतन्त्रका लागि लडेको पार्टी भन्दै उहाँले देशमा राष्ट्रियता, भौगोलिक अखण्डताको पहरेदार गर्ने, विभिन्न भेदभाव र पक्षपातको बिरोध गर्ने पार्टी एमालेमात्र भएको बताउनुभयो । विगतमा बिरोधिहरुले देशभर मधेसमा मधेस बिरोधि, पहाडमा आदिवासी जनजाति बिरोधि भनेर एमालेको विरुद्धमा हल्ला मच्चाए पनि त्यो कुरा सत्य नभएको प्रमाणित भैसकेको बताउनुभयो ।

मधेसमा दैनिक हजारौं मधेसबासीहरु र पहाडमा आदिवासी जनजातिहरु एमालेप्रति आस्था राख्दै बिश्वास गर्दै एमाले प्रवेश गरिरहेको बताउँदै उहाँले एमालेविरुद्ध विरोधीहरुले जति अफवाह फैलाए पनि मधेसमा एमाले झन बलियो भएको बताउनु भयो ।