जनता टाइम्स

२ मंसिर २०७८, बिहीबार १३:५८

यसकारण देउवा मन्त्रिपरिषद्का निर्णय चार महिनादेखि गुपचुप


काठमाडौं, २ मंसिर । शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्ति भएको चार महिना नाघिसक्दा पनि मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक भएका छैनन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको वेबसाइटमार्फत सार्वजनिक हुँदै आउने गरेका निर्णयहरू गत ७ असारदेखि अपडेट भएका छैनन् । देउवा गत २९ असारमा प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता सहसचिव कृष्णबहादुर राउतले क्याबिनेट शाखाले अपडेट नगर्दा नदेखिएकोे बताउनुभयो । ‘मन्त्रिपरिषदको निर्णयको अपडेट क्याबिनेट शाखाले गर्ने हो, अब म अपडेट गराउन भनिहाल्छु,’ प्रवक्ता राउतले भन्नुभयो ।पूर्ववर्ती सरकारले गत ७ असारमा गरेको निर्णयपछि कुनै पनि निर्णय सार्वजनिक नगरिएको हो ।

मन्त्रिपरिषद बैठकपछि सरकारका प्रवक्ताले बैठकका निर्णय सार्वजनिक गर्ने गरेको भए पनि वेबसाइटमा भने त्यसलाई राखिएको छैन ।पूर्ववर्ती सरकारले सातामा एक दिन मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्ने गरेको भए पनि देउवा नेतृत्वको सरकारले भने बैठक सकिएलगत्तै प्रवक्तामार्फत मौखिक रूपमा निर्णय सार्वजनिक गर्दै आएको छ ।