जनता टाइम्स

२ मंसिर २०७८, बिहीबार १६:४५

अदालतभित्र लाठी हान्ने, हतियार भित्र्याउने काम प्रधानन्यायाधीशले गरे : बार अध्यक्ष श्रेष्ठ


काठमाडौं, २ मंसिर । नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले सर्वोच्च अदालतभित्र लाठी हान्ने र हतियार भित्र्याउने काम प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र सर्वोच्च प्रशासनले गरेको आरोप लगाउनुभएको छ । आज दिउँसो सर्वोच्च परिसरमा प्रहरीको कुटाइबाट घाइते हुनुभएको उहाँउपचारपछि फर्किएर आकस्मिक पत्रकार सम्मेलन गरी प्रधानन्यायाधीशको आलोचना गर्नुभएको हो । उहाँ व्यक्ति मरे पनि केही नहुने तर न्याय मर्न नहुने उल्लेख गर्नुभयो ।

‘म मरें भने केही हुँदैन । दुई चारजना मरेर केही हुँदैन । तर न्याय मर्नुहुँदैन । अदालतभित्र लाठी हान्ने, हतियार भित्र्याउने काम प्रधानन्यायाधीश र सर्वोच्च प्रशासनले ल्यायो । यसको जवाफ प्रधानन्यायाधीशले लिनुपर्छ । हाम्रो देशको विश्वमा बेइज्जत हुन्छ । अदालतभित्र पुलिस रोक्नुपर्छ । ५ बजे हामीलाई पापडको बैठकमा बोलाइएको छ । सहभागी भएर हाम्रा कुरा राख्छौं,’ श्रेष्ठले भन्नुभयो ।

उहाँले प्रधानन्यायाधीश जबरा न्यायमा बाधक रहेको विषयमा न्यायाधीशहरूको विमति नरहेको बताउनुभयो । ‘सेवाग्राहीलाई सेवा दिन प्रधानन्यायाधीश पावर घटाउने, न्याय सम्पादनको अधिकार कटौती गर्ने, गोलाप्रथामा सहभागी नगराउने, बेन्च सेयरिङ नगर्ने कुरामा सबै न्यायाधीश एकमत छन् । न्यायाधीशहरूले गोलाप्रथाबाट जाने भन्नुभएको छ ।

बिलौलिया रोक्ने हाम्रो बारको पहिलो माग हो, गोलाप्रथा । किनभने प्रधानन्यायाधीशले जथाभावी सेटिङमा बेन्च गर्ने गरेका थिए । विगतमा राजाको अधिकार कटौती गरेको, त्यसपछि राजा हटाइयो । त्यसैगरी गोलप्रथाले प्रधानन्यायाधीशको अधिकार कटौती गर्यो, अब हट्छन् । न्यायाधीशहरू आफ्नो हिसाबले सुधारमा अघि बढेका छन्, हामी आफ्नो हिसाबले अघि बढ्छौं । राजपत्रमा प्रकाशित भएपछि लागू हुन्छ,’ श्रेष्ठले भन्नुभयो ।