जनता टाइम्स

२ मंसिर २०७८, बिहीबार १७:३८

गोला लागु नभएनि भोलीबाट सबै न्यायाधीश इजलास फर्कने, बन्दी, मिलापत्र र मुद्दा फिर्तामा मात्र सुनुवाइ


काठमाडौं, २ मंसिर । फुलकोर्ट बैठक बसेर गोलाप्रथाद्वारा मुद्दाको पेसी तोक्नेसम्बन्धी नियमावली र निर्देशिका संशोधन गरेका न्यायाधीशहरू भोलीबाटै इजलास फर्कने भएका छन् । यसअघि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले तोकेको पेसीका मुद्दा सुनुवाइ नगर्ने अडानमा रहेका न्यायाधीशहरू नियमावली र निर्देशिका संशोधन राजपत्रमा प्रकाशित नभए पनि भोलीबाट इजलास फर्कन तयार भएका हुन् ।

गोलाप्रथा सुरू भएपछि सबै मुद्दामा सुनुवाइ गर्ने निर्णय गरेका न्यायाधीशहरूले शुक्रबारबाटै बन्दीप्रत्यक्षीकरण, मुद्दा फिर्ता र मिलापत्र सम्बन्धी रिट र मुद्दाको भने सुनुवाइ गर्ने भएका छन् । ‘हामी अब बन्दी, मिलापत्र र मुद्दा फिर्ताका विवादमा भने इजलास बसेर सुनुवाइ गर्छौँ । अन्य मुद्दामा भने राजपत्रमा सूचना आएर फुलकोर्टले गोला लागु गरेको दिनबाट मात्र मुद्दा हेर्छौँ,’ एक न्यायाधीशले भन्नुभयो ।

यी विवादमा कानुन व्यवसायीको उपस्थिति नभए पनि आदेश गर्न मिल्ने भएकाले न्यायाधीशहरू तीन प्रकारका विवाद हेर्न सहमत भएका हुन् ।उहाँका अनुसार यी मुद्दामा प्रधानन्यायाधीशसँग बेञ्च सेयरिङ हुने छैन भने प्रधानन्यायाधीशले राजपत्रमा सूचना प्रकाशनको प्रक्रियाअघि नबढाए पुनः यी विवादमा सुनुवाइ हुने छैन । इजलास फर्किएर मुद्दा सुनुवाइ थाल्ने बताए पनि नेपाल बार बहसमा नआउने भएकाले उनीहरूले प्रधानन्यायाधीशसँग बेन्च सेयरिङ गर्ने निर्णय गरेका हुन् ।

‘राजपत्रको सूचनाअनुसार फुलकोर्टले गोलाबाट मुद्दा हेर्ने मिति तोकेपछि सबैखाले मुद्दा हेर्छौँ, तर प्रधानन्यायाधीश र बारबीच सहमति नभएसम्म जबरासँग इजलास सेयरिङ हुन्न,’ ती न्यायाधीशले भन्नुभयो । उहाँका अनुसार गोला लागु भएपछि कानुन व्यवायी बहसमा नआएपनि इजलास भने जाने विषयमा न्यायाधीशहरू एकमत छन् । तर, कानुन व्यवसायीबिना मुद्दा सुनुवाइअघि नबढ्ने भएकाले प्रधानन्यायाधीशले निकास नदिएसम्म सर्वोच्चमा नियमति सुनुवाइ भने प्रभावित हुनेछन् ।