जनता टाइम्स

३ मंसिर २०७८, शुक्रबार १७:१०

एमाले महाधिवेशनमा लुम्बिनी प्रदेशले ७५ हजार जना सहभागी गराउने


बुटवल, ३ मंसिर । नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीले पार्टीको आसन्न १०औँ राष्ट्रिय महाधिवेशनमा आफ्नो प्रदेशबाट ७५ हजार जनताको सहभागिता गराउने भएको छ । यसका लागि एमाले प्रदेश कमिटीले जिल्लागत रूपमा जिम्मेवारी बाँडफाँडसमेत गरेको छ ।लुम्बिनी प्रदेशबाट सबैभन्दा धेरै रुपन्देहीले २२ हजार सहभागी गराउने भएको छ । नवलपरासी र कपिलवस्तु जिल्ला कमिटीलाई १५/१५ हजारका दरले जनसहभागिता गराउने गरी जिम्मेवारी तोकिएको छ ।

दाङबाट आठ हजार, बाँकेबाट पाँचहजार, बर्दिया र पाल्पाबाट तीन/तीनहजार, गुल्मी, अर्घाखाँची र प्यूठानबाट एक/एक हजार तथा रुकुम पूर्व र रोल्पाबाट ५०० का दरले सहभागिता गराइने एमाले लुम्बिनी प्रदेश कमिटी अध्यक्ष लिला गिरीले जानकारी दिनुभयो । चितवनको नारायणी नदी किनारमा हुने महाधिवेशनको उद्घाटन समारोहमा पाँच लाख मानिसको सहभागिता गराउने गरी तयारी भइरहेको महाधिवेशन मूल व्यवस्थापन समितिको सदस्यसमेत रहेक गिरीले बताउनुभयो ।

एमाले लुम्बिनी प्रदेश कमिटीले प्रदेशस्तरमा महाधिवेशनको व्यापक तयारीसमेत थालेको छ । यसका लागि राजमार्गमा डिजिटल विज्ञापन बोर्ड, वडास्तर र पालिकास्तरमा स्वागत गेट निर्माण गरिनेछ । प्रचारका लागि भित्ते लेखन र कुनै पोष्टर भने नटाँसिने गिरीले बताउनुभयो । महाधिवेशनका लागि लुम्बिनी प्रदेशबाट २०८ जना प्रतिनिधि सहभागी हुँदै छन् । एमालेको लुम्बिनी प्रदेश प्रचार-प्रसार समितिले महाधिवेशन केन्द्रित बुलेटिन प्रकाशनको तयारीसमेत थालेको छ ।

यही ६-७ मंसिरमा बुलेटिन प्रकाशन हुने र त्यसमा पुष्पलालको जीवनी, जनताको बहुदलीय जनवादको नीतिलाई मुलुकका सबै पार्टीले अंगालेको विषय तथा मुलुकका प्रथम कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारी र कम्युनिष्ट सरकार जस्ता विषयहरू समेटिने एमाले केन्द्रीय प्रचार विभागका सदस्य डिआर घिमिरेले बताउनुभयो ।