जनता टाइम्स

४ मंसिर २०७८, शनिबार १७:४६

विश्वकै आठौँ प्रदूषित सहर काठमाडौँ


काठमाडौं, ४ मंसिर । नेपालको राजधानी काठमाडौँ विश्वकै प्रदूषित सहरको आठौँ नम्बरमा उक्लिएको छ । वायुको गुणस्तर मापन गर्ने युरोपेली संस्था आइक्युएयरको लाइभ अपडेटमा पाकिस्तानको लाहोर विश्वकै प्रदूषित सहरको पहिलो नम्बरमा छ ।

त्यहाँ वायु गुणस्तर सूचकांक पिएम–२.५ (पार्टिकुलेट म्याटर)को मात्रा प्रतिघन्टा ४०७ माइक्रोग्राम प्रतिघनमिटर छ । जुन घातक हो ।नेपालमा पनि यो सूचकांक पाँच सयसम्म नाघ्ने गरेको छ । यद्यपि, शनिबार बिहान काठमाडौँमा पिएम–२‍.५ को मात्रा प्रतिघन्टा १७६ सम्म पुगेको आइक्युएरको तथ्यांकमा उल्लेख छ । यो सूचकांक १५१ नाघेमा अस्वस्थकर मानिन्छ । वातावरण स्वास्थ्य विज्ञ यादवराज जोशीले काठमाडौँमा दुई दिनयता बदली हुँदा वायु प्रदूषण बढ्दै गएको बताए ।दोस्रोमा दक्षिण कोरियाको इनचोन, तेस्रोमा भारतको राजधानी नयाँदिल्ली, कीर्गिस्तानको विस्केक, पाँचौमा भारतको कोलाकाता सहर, छैटौँमा क्रोसियाको जागरेब, सातौँमा बंगलादेशको ढाका र आठौँमा नेपालको काठमाडौँ रहेको छ । शनिबार बिहानको तथ्यांक अनुसार काठमाडौँसहित पाँच सहरको वायु प्रदूषण मानव स्वास्थ्यका लागि हानिकारक अवस्थामा पुगेको छ ।

पिएम २.५ को मात्रा प्रतिघन्टा हेर्दा पोखरामा १८४, विराटनगरमा १७६, काठमाडौँको रत्नपार्कमा १५१, कीर्तिपुरमा १५६, सिमरामा १५४ पुगेको छ ।

धनकुटा, धनगढी, महेन्द्रनगरमा पनि प्रदूषण बढिरहेको छ । ती सहरको वायु गुणस्तरको मात्रा राष्ट्रिय मापदण्डभन्दा बढी रहे पनि रेड जोनमा परिसकेका छैनन् ।