जनता टाइम्स

४ मंसिर २०७८, शनिबार १७:५६

पछिल्लो २४ घण्टामा संक्रमितभन्दा निको हुनेको संख्या बढी : थप २४२ जनामा कोरोना सङ्क्रमण


काठमाडौं, ४ मंसिर । पछिल्लो २४ घण्टामा दुई सय ४२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी सात हजार एक सय ३६ जनाको नमूना परिक्षण गर्दा तीन दशमलव ३९ प्रतिशत अर्थात दुई सय ४२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज थपिएका सहित नेपालमा पीसीआर विधिबाट गरेको परीक्षणमा आठ लाख १८ हजार सात सय ८७ जना र एन्टिजेन विधिबाट गरेको परीक्षणमा ९५ हजार तीन सय आठ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा चार सय ४४ जना निको भएका छन् । यो सहित कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या सात लाख ९९ हजार नौ सय ८९ जना पुगेको छ । आज थप एक जनासहित कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार चार सय ९५ जना पुगेको छ ।

अहिले नेपालमा सात हजार तीन सय तीन जना सक्रिय सङ्क्रमित रहेका छन् । यस्तै पछिल्लो २४ घण्टामा एक लाख तीन हजार दुई सय नौ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । योसहित नेपालमा ९१ लाख नौ हजार ६ सय ६६ जनाले कम्तीमा एक मात्रा र ७८ लाख ७६ हजार सात सय एक जनाले पूर्ण मात्रा खोप लगाएका छन् ।