जनता टाइम्स

५ मंसिर २०७८, आईतवार २०:३६

‘आस्था नेपाल’ र ‘पतञ्जली नेपाल’ टिभी उद्घाटन कानुन विपरीत काम : प्रवक्ता ज्ञवाली


काठमाडौं, ५ मंसिर ।  प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का प्रवक्ता प्रदीप ज्ञवालीले प्रधानमन्त्री शेरबहादुर देउवाले बाह्य लगानीमा सञ्चालित टेलिभिजन च्यानल ‘आस्था नेपाल’ र ‘पतञ्जली नेपाल’ उद्घाटन गरेर कानुन विपरित काम गरेको टिप्पणी गर्नु भएको छ ।

पूर्वपरराष्ट्रमन्त्री समेत रहनु भएका प्रवक्ता ज्ञवालीले नेपालको कानुनले निषेध गरेको ती टेलिभिजन च्यानलहरु उद्घाटन गर्नुको कारण के हो भनेर प्रधानमन्त्री देउवालाई प्रश्न समेत गर्नु भयो । आईतबार प्रेस चौतारी नेपाल, उपत्यका प्रदेश कमिटीले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले नेपालले सञ्चार माध्यामहरुमा बाह्य लगानी निषेध गरेको उल्लेख गर्दै ती कुराहरु स्वागत गर्न नसकिने स्पष्ट पार्नु भयो । गत मंसीर ३ गते योगगुरु रामदेवको स्वामित्वमा रहेको पतञ्जली कम्पनीले काठमाडौंमा सञ्चालनमा ल्याएको ‘आस्था नेपाल’ र ‘पतञ्जली नेपाल’ नाममा दुई टेलिभिजन च्यानलको प्रधानमन्त्री देउवाले उद्घाटन गर्नु भएको थियो । प्रधानमन्त्री देउवाले उद्घाटन गर्नु भएको ती दुई च्यानल कानुनसम्मत नभएको प्रवक्ता ज्ञवालीको दावी छ । उहाँले सो च्यानल नेपालको कानुन विपरित राष्ट्रिय हितभन्दा फरक ढंगले सञ्चालनमा आएको प्रारम्भिक प्रतिक्रिया समेत दिनु भयो । प्रवक्ता ज्ञवालीले भन्नु भयो, ‘नेपालले बाह्य लगानीका लागि केही क्षेत्रलाई निषेधित गरेको छ । यो अहिले कुनै व्यक्ति विशेषलाई, संस्था विशेषलाई लक्षित गरेर होईन ।

खास गरेर सञ्चार क्षेत्रमा टेलिभिजन देखि लिएर अरु विभिन्न क्षेत्रहरु सञ्चार माध्यामहरुमा बाह््य लगानीलाई पूर्ण रुपले निषेध गरिएको छ । अव कुन ढंगले प्रधानमन्त्रीले त्यो टिभी च्यानल उद्घाटन गर्नु भयो । त्यो हामीले बुझेका छैनौं । दोस्रो नेपालमा लगानीका निम्ति निश्चित माध्यामहरु छन । त्यसका लागि उद्योग विभाग अन्तरगत वान स्टप सर्भिसहरु छन । त्यसका निम्ति इन्भेष्टमेन्ट बोर्ड छ । बाह्य लगानीलाई के–के सुविधा दिने÷नदिने भन्ने कुरा चाँही हाम्रा निश्चित नियमहरु छन । कुनै एक जना व्यक्तिको सस्तो लोकप्रियताको निम्ति म तपाईलाई यो सुविधा दिन्छु भन्दैमा ती कुराहरु भईहाल्छ जस्तो लाग्दैन । किनकी त्यो कानुनसम्मत हुन जरुरी हुन्छ । नेपालमा विदेशी लगानी आउने कुुरा राम्रो हो । तर लगानी कानुनसम्मत हुनुपर्छ । विधिसम्मत हुनुपर्छ, पारदर्शी हुनुपर्छ । त्यसो भएर पारदर्शी, विधिसम्मत र नेपालको प्राथमिकताको क्षेत्रमा आउने लगानीलाई हामी स्वागत गर्छौं ।

तर कानुन विपरित नेपालको राष्ट्रिय हितभन्दा फरक ढंगले त्यसरी आउने कुरा चाँही हुँदैन । अव त्यसको बारेमा सबै डिटेल आएपछि छलफल गर्छौं । जहाँसम्म नेपालको सञ्चार क्षेत्र हो । सञ्चार माध्यामहरुमा बाह्य लगानी चाँही निषेध गरिएको व्यहोरा यहाँहरुलाई जानकारी गराउँदछु ।’प्रवक्ता ज्ञवालीले सो टेलिभिजन च्यानलबारे विस्तृत रुपमा छलफल गर्ने जानकारी समेत दिनु भयो । उहाँले कानुनसम्मत, विधिसम्मत र नेपालले प्राथमिकता तय गरेको क्षेत्रमा आउने बाह्य लगानीलाई भने आफूहरुले सधैं स्वागत गर्ने बताउनु भयो ।

प्रवक्ता ज्ञवालीले पार्टीको दशौं महाधिवेशनमा नेताहरुको व्यवस्थापनका लागि विधान संशोधन गर्ने सम्भावना नरहेको बताउनु भयो । विधानको परिधिभित्र रहेर योग्यभन्दा योग्य नेताहरुलाई नेतृत्वमा चयन गर्ने उहाँको भनाई थियो ।प्रवक्ता ज्ञवालीले महाधिवेशनमा विधानको विषयले नेतृत्व चयनमा समस्या पारेकाले त्यसलाई समाधान गरेर अघि बढन पहिलो पटक पार्टीको विधान महाधिवेशन छुट्टै आयोजना गर्नु परेको पनि स्मरण गराउनु भयो ।