जनता टाइम्स

६ मंसिर २०७८, सोमबार ०७:५५

एमाले केन्द्रीय सदस्यमा चितवनबाट ९ जना आकांक्षी


चितवन, मंसिर ६ । नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशन १०–१२ मंसिरसम्म चितवनमा हुँदैछ । महाधिवेशनबाट १५ पदाधिकारीसहित २२५ सदस्यीय केन्द्रीय कमिटी र अनुशासन तथा लेखा आयोगका ३० जना गरी कुल २५५ जना निर्वाचित हुनेछन् । मतदानमा एक हजार ९९९ प्रतिनिधि सहभागी हुनेछन् ।

केन्द्रीय कमिटी सदस्यमा चितवनबाट भने अहिलेसम्म ९ जनाले आकांक्षा देखाएका छन् । अरू अझै खुलेका छैनन् । दुई पटक सांसद भइसकेका कृष्णभक्त पोखरेलदेखि एमाले चितवन जिल्ला इन्चार्ज काशीनाथ अधिकारीसम्मले केन्द्रीय सदस्यमा आकांक्षा देखाउनु भएको छ । चितवन प्रतिनिधि सभा क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद कृष्णभक्त पोखरेलले आइतबार नेकपा एमालेको केन्द्रीय सदस्यमा चुनाव लड्ने घोषणा गर्नुभएको छ । दुई चोटि सांसद बनिसकेका पोखरेलले एमालेको आसन्न १०औं राष्ट्रिय महाधिवेशनमा केन्द्रीय कमिटी सदस्यमा चुनाव लड्ने पक्का भएको बताउनु भयो ।

पोखरेल १०औं राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा आवास तथा खानपानको व्यवस्थापनमा खटिनु भएको छ । ‘यो पटक केन्द्रीय सदस्यमा लड्ने हो नि । दुई चोटि सांसद, कानुन समितिको सभापति भइसकेको मान्छे । यो लेभलको मान्छे, अब केन्द्रीय सदस्यमा लड्ने हो’, पोखरेलले भन्नुभयो । निर्वाचन क्षेत्र नम्बर २ बाट उहाँ २०७० सालमा संविधान सभाको सदस्य र २०७४ मा प्रतिनिधि सभाको सदस्यमा निर्वाचित भएका सांसद हुनुहुन्छ ।

एमाले चितवनकी अध्यक्ष पार्वती रावल, पूर्व अध्यक्ष एवं एमाले प्रदेश कमिटी सदस्य जेएन थपलिया, दावा लामा र विजय सुवेदी पनि केन्द्रीय सदस्यमा उठ्ने घोषणा गर्नुभएको छ । त्यसैगरी, हालका एमाले केन्द्रीय सदस्य देवी ज्ञवाली, कपिल पोखरेल र सीता पौडेल पुनः केन्द्रीय सदस्यमा उठ्ने बताउनु भएको छ । एमाले चितवन इन्चार्ज काशीनाथ अधिकारीले पनि पदाधिकारी वा केन्द्रीय सदस्यमा चुनाव लड्ने तयारी गर्नुभएको छ । केन्द्रीय सदस्यका आकांक्षी महाधिवेशनको लागि जिल्लामा जनपरिचालनदेखि आर्थिक प्रबन्धका काममा जिम्मेवारी लिएका काम गरिरहेका छन् ।