जनता टाइम्स

६ मंसिर २०७८, सोमबार ०९:१८

एमालेले महाधिवेशनमा २ सय ५० जनाभन्दा धेरै डाक्टर


काठमाडौं, मंसिर ६ । नेकपा एमालेले १० औँ राष्ट्रिय महाधिवेशनमा २ सय ५० जनाभन्दा धेरै डाक्टरहरु परिचालन गर्ने भएको छ ।
महाधिवेशन अन्तर्गतको स्वास्थ्य समितिले डाक्टरसहितको सबै व्यवस्थापन तयारी पूरा गरेको जनाएको छ । स्वास्थ्य समितिका संयोजक भानुभक्त ढकालका अनुसार प्राथमिक उपचारदेखि भैपरि आउने स्वास्थ्य समस्या हेर्नेगरी व्यवस्थापन मिलाइएको छ ।

महाधिवेशन उद्घाटनका दिन आउँदो १० गते नारायणी नदी किनारमा डाक्टरहरुको नेतृत्वमा औषधि र उपकरणसहितको चार वटा स्टल राख्ने तयारी भएको उहाँले जानकारी दिनुभयो । समितिले होटलमा बस्ने प्रतिनिधिहरुका लागि आपत्कालीन स्वास्थ्य समस्या आइपरे नजिकका अस्पतालमा लगेर निःशुल्क उपचारको व्यवस्था मिलाएको छ ।अतिआवश्यकीय सेवाका लागि प्रतिनिधि रहने क्षेत्रमा डेस्क राखिने ढकालले बताउनुभयो । नियमित र उमेरजन्य औषधि सेवनका लागि निःशुल्क व्यवस्था मिलाइएको छ ।

कोभिड–१९ को जोखिम कम नभएकाले स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गराइने ढकालले बताउनुभएको छ ।खुला र बन्द दुवै सत्रमा अनिवार्य रुपमा मास्क र स्यानिटाइजर प्रयोग गर्ने, भौतिक दूरी कायम गर्ने व्यवस्था मिलाइएको छ । विदेशबाट आएका प्रतिनिधिहरुलाई सम्बन्धित देश फर्कंदा पीसीआर परीक्षण सहज रुपमा गराउने व्यवस्था पनि मिलाइएको समितिले जनाएको छ ।