जनता टाइम्स

७ मंसिर २०७८, मंगलवार ०८:१४

महाधिवेशनको तयारीमा रहेको एमाले स्थायी कमिटी बैठक आज बस्दै


काठमाडौं, ७ मंसिर। दशौं महाधिवेशनको पूर्वसन्ध्यामा नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दै छ ।१० औं महाधिवेशनको तयारीमा व्यस्त रहेको एमालेको स्थायी कमिटी बिहान ११ बजे ललितपुरको च्यासलस्थित तुलसीलाल प्रतिष्ठानमा बस्न लागेको हो ।हिजोका लागि तय भएको बैठक आवश्यक तयारी नपुगेको भन्दै आजका लागि सारिएको हो ।

बैठकमा महाधिवेशन तयारीका विषयमा छलफल हुने एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो ।यही मंसिर १० गतेदेखि १२ गतेसम्म चितवनमा हुने महाधिवेशनका लागि एमालेले विभिन्न क्षेत्रगतरुपमा १९ सय तीन जना प्रतिनिधि चयन गरिसकेको छ ।

आजको स्थायी कमिटी बैठकमा केन्द्रले मनोनित गर्ने ९६ जना सदस्यका बारेमा छलफल गर्ने एजेण्डा रहेको तामाङले जानकारी दिनुभयो । निर्वाचित भएर आएकाबाहेक पाँच प्रतिशत प्रतिनिधि मनोनित गर्ने स्थायी कमिटीको प्रस्तावलाई केन्द्रीय कमिटीले अनुमोदन गर्ने छ । एमालेको १० औं राष्ट्रिय महाधिवेशनमा एक हजार ९ सय ९९ जना प्रतिनिधिहरू सहभागी हुँदैछन् ।