काठमाडौं, मंसिर ८ । नेपाली कांग्रेसको १४औं महाधिवेशनका लागि प्रतिनिधि चयन प्रक्रिया जारी छ । अहिलेसम्म २५ जिल्लामा सभापति निर्वाचित भइसकेका छन् । जसमा संस्थापन सभापति शेरबहादुर देउवा र इतर समूह रामचन्द्र पौडेल पक्षको हैसियत बराबरी देखिएको छ । यसपटकको कांग्रेस महाधिवेशनमा चर्चित नेताहरू प्रतिनिधि छनोटमै पराजित भएका छन् ।
जसमा मन्त्री, सांसद, केन्द्रीय सदस्य, पूर्वसांसद, जिल्ला सभापति, उपसभापति, नेविसंघका वतर्मान र पूर्वपदाधिकारीसमेत छन् । कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेल महाधिवेशन प्रतिनिधिमै पराजित हुनुभएको छ । जबकि कांग्रेसको क्रियाशील सदस्यता वितरणदेखि कार्यालयका सबै काममा उहाँकै हात रहन्छ । कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य किरणराज पौडेल र बागलुङ जिल्ला सभापति दिपेन्द्रबहादुर थापा महाधिवेशन प्रतिनिधिमा पराजित हुनुभएको छ । बागलुङको क्षेत्र नम्बर १ बाट पौडेल र थापा खुला महाधिवेशन प्रतिनिधिमा पराजित हुनुभएको हो । दुवै संस्थापन समूहका नेता हुन् ।
नेपाली कांग्रेस कञ्चनपुरका पार्टी सभापति हरि बोहरा पनि महाधिवेशन प्रतिनिधिमा पराजित हुनुभएको छ । बोहरा कञ्चनपुरको निर्वाचन क्षेत्र नं २ बाट महाधिवेशन प्रतिनिधिका लागि खुलातर्फ उम्मेदवार हुनुहुन्थ्यो । यस्तै, पूर्वसांसद बलदेव बोहरा पनि महाधिवेशन प्रतिनिधिमा पराजित हुनुभएको छ । चितवनका कांग्रेस नेता एवं पूर्वमन्त्री शेषनाथ अधिकारी पनि महाधिवेशन प्रतिनिधिमै पराजित हुनुभएको छ । उहाँ देउवा समूहका नेताका रूपमा परिचित हुनुहुन्छ ।
सुर्खेत कांग्रेसका सभापति पनि महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन् । प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ को अधिवेशनमा सभापति कमलराज रेग्मी केन्द्रीय महाधिवेशन प्रतिनिधिमा पराजित हुनुभएको हो । त्यस्तै, पूर्वमन्त्रीसमेत रहेका शिवराज जोशी पनि पराजित हुनुभएको छ । यस्तै, नेविसंघका बहालवाला र पूर्वमहामन्त्रीसमेत पराजित भएका छन् । नेविसंघकी महामन्त्री महेश्वरी कुँवर, पूर्वमहामन्त्री सरोज थापा महाधिवेशन प्रतिनिधिमा पराजित हुनुभएको छ । यस्तै, नेविसंघका पूर्वमहामन्त्री बलदेव तिमल्सिना वडा कमिटीमै पराजीत हुनुभएको छ ।













प्रतिक्रिया दिनुहोस्