पोखरा, मंसिर ९ । नेपाली कांग्रेस कास्कीको क्षेत्रीय अधिवेशनमा मिश्रित नतिजा आएको छ । प्यानल बनाएर उम्मेदवारी दिए पनि नतिजा भने प्यानलमा आएन । क्षेत्र नम्बर १ को सभापतिमा राजेन्द्रमणी लामिछाने भारी मत सहित विजयी हुनुभयो ।
उहाँले निकटतम प्रतिस्पर्धी बुद्धिमान गुरुङलाई १२८ मतको फराकिलो अन्तरले पराजित गरेर्नुभएको छ । लामिछानेले ४५८ मत पाउनु भयो भने गुरुङको ३३० मत छ । लामिछाने जिल्लासभापति कृष्ण केसी समुहका र गुरुङ पूर्व सभापति यज्ञबहादुर थापाको टिमबाट चुनाव लडनुभएको थियो ।
समितिको सचिवमा सरोज केसी र ओम प्रकाश गुरुङ विजयी हुनुभएको छ । सहसचिवमा सुजता गुरुङ र मोती गिरी विजयी हुनुभयो । सहसचिव गिरी थापा प्यानलमा हुनुहुन्थ्यो ।
क्षेत्र नम्बर २ को सभापतिमा केशरप्रसाद निर्दोषी निर्वाचित हुनुभएको छ । उहाँले निकटतम प्रतिस्पर्धी पुण्डरीप्रसाद बरालाई १७ मतान्तरले हराउनु भएको हो । निर्देषीले २४७ मत पाउनु भयो भने बरालले २३० मत पाउनु भयो ।
निर्दोषी जिल्लामा देवराज चालिसे समुह र बराल शुक्रराज शर्मा प्यानलमा हुनुहुन्थ्यो । सचिवमा देवकृष्ण पराजुली र नरेन्द्र अधिकारी विजयी हुनुभएको छ भने सहसचिवमा भावना श्रेष्ठ र विश्वराज आचार्य विजयी हुनुभयो । सचिव पराजुली र सहसचिव श्रेष्ठ निर्दोषी भन्दा फरक प्यानलका हुन ।
क्षेत्र नम्बर ३ को सभापतिमा मनोज गुरुङ निर्वाचित हुनुभयो । देउवा निकट उहाँ ३८३ मत सहित विजयी हुँदा निकटतम प्रतिस्पर्धी खिमलाल बास्तोला ३१७ मत पाउनु भयो । सचिवमा मेखबहादुर तामाङ र लक्ष्मीप्रसाद पौडेल, सहसचिवमा शीतल अधिकारी र आइन्दल गुरुङ निर्वाचित हुनुभएको छ ।













प्रतिक्रिया दिनुहोस्