जनता टाइम्स

९ मंसिर २०७८, बिहीबार ०७:२०

एमाले बरिष्ठ उपाध्यक्षमा इश्वर पोखरेल पक्का



काठमाडौं, मंसिर ९ । नेकपा एमालेका महासचिव इश्वर पोखरेल बरिष्ठ उपाध्यक्षमा उम्मेद्वार बन्ने निश्चित भएको छ । दुई पटक महासचिवको जिम्मेवारी सम्हाल्नुभएका पोखरेल मंसिर १० बाट सुरु हुन लागेको दशौं महाधिवेशनबाट अध्यक्ष केपी शर्मा ओलीलाई सघाउन बरिष्ठ उपाध्यक्षको जिम्मेवारी लिन चाहनु भएको हो ।

महासचिव पोखरेलले आफू अध्यक्षमै डिजर्भ गर्ने भएपनि एमाले र मुलुकको आवश्यकता केपी शर्मा ओलीकै रहेकोले बरिष्ठ उपाध्यक्षमा उम्मेद्वार बन्ने बताउनु भएको छ । एमालेमा पोखरेललाई ब्यवस्थापन गर्नकै लागि बरिष्ठ उपाध्यक्ष पद सिर्जना गरिएको आम कार्यकर्ताको बुझाइबीच उहाँले सोही पदमा उम्मेद्वार बन्ने बताउनु भएको हो ।

‘म अध्यक्षमै डिजर्भ गर्छु तर अहिलेको आवश्यकता केपी ओलीकै हो, मुलुकमा जुन खालको ध्रुबिकरण भइरहेको छ, त्यो लडाईमा बिजयी बन्न केपी ओलीकै नेतृत्व चाहिन्छ, त्यसकारण म अहिले बरिष्ठ उपाध्यक्ष रहेर उहाँलाई सघाउने हो,’ एक टेलिभिजनसँगको अन्तवार्तामा महासचिव पोखरेलले भन्नुभएको छ ।

एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले चुनाव भए बरिष्ठ उपाध्यक्षमा उम्मेद्वारी दिने घोषणा गर्नुभएपछि केही तरंग भने आएको छ । उपमहासचिव घनश्याम भुसाल पनि बरिष्ठ उपाध्यक्षमै उम्मेद्वारी दिने बताउनु भएको छ ।