जनता टाइम्स

१३ असार २०७६, शुक्रबार ११:४९

मालपोतमा जग्गा रोक्का गरेपछि बुझाए उद्योगीले विद्युत् महसुल


हेटौंडा, असार १३

लामो समयदेखि विद्युत् महसुल बक्यौता राखेको र कालोसूचीमा परेको एक उद्योगले आफ्नो जग्गा मालपोत कार्यलयमा रोक्का भएपछि रु २२ लाख ७५ हजार जरिवानासहित विद्युत् महसुल तिरेको विद्युत् वितरण केन्द्र हेटौँडाले जनाएको छ । विगत १० वर्षदेखि महसुल नतिर्ने मकवानपुर क्रसर उद्योगको भीमफेदी–१ मा पर्ने जग्गा मालपोत कार्यालयमा रोक्का गरी सूचना जारी भएपछि सम्बन्धित उद्योगले बक्यौता रकम बुझाएको केन्द्रका प्रमुख शम्भु कुसियत यादवले बताउनुभयो ।

यसरी मालपोतमा पहिलोपल्ट सो केन्द्रले जग्गा रोक्का गरेको सूचना गरेपछि उक्त रकम बुझाएको बताइएको छ । यस्तै जिल्ला जनस्वास्थ्य कार्यालय हेटौँडाले पनि लामोे समयसम्म बक्यौता रहेको रु १४ लाख ५० हजार विद्युत् महसुुुल बुझाएको बुझिएको छ । वितरण केन्द्रका अनुसार लामो समयदेखि विद्युत् महसुल नतिर्ने, अटेर गर्ने तथा विद्युत् चोरी गर्ने ७१८ जनाको विद्युत् लाइन कट्टा गरी जरिवानासमेत गरिएको छ ।

विद्युत् कट्टा गरिएकोमध्ये ७०० ले जरिवानासहित महसुल बुझाएका छन् । उक्त रकम रु तीन करोडभन्दा बढी रहेको छ । साथै कार्यालयले विद्युत् चुहावट रोक्न अनुगमनकार्य तीव्र पारेको छ । कार्यालयले विद्युत् महसुल इ–बिलिङमार्फत शुरु गरेको प्रमुख यादवले बताउनुभयो । मासिक रु १७ करोडभन्दा बढी विद्युत् महसुल उठाउँदै आएको केन्द्रको ग्राहक सङ्ख्या ५० हजार हारहारीमा रहेको छ ।

हाल केन्द्रमा निवेदन दिएलगत्तै विद्युत मिटर जडान हुने गरेको छ । त्यस्तै कार्यालयले नेपाल सरकारको उज्यालो कार्यक्रमअन्तर्गत विपन्न, गरीब तथा सुकुम्वासीलाई निःशुल्क विद्युत् मिटर वितरणसमेत गरेको छ ।