जनता टाइम्स

१५ मंसिर २०७८, बुधबार १३:०२

शेखरलाई कमजोर पार्ने देउवा-पौडेल र सिटौलाको रणनीति बिफल, मोरङ सभापतिमा लिम्बु विजयी


विराटनगर, मंसिर १५ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत मोरङमा भइरहेको जिल्ला अधिवेशनमा केन्द्रीय सभापतिका आकांक्षी डा. शेखर कोइरालालाई कमजोर देखाउन सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीचको चुनावी तालमेलले फेल खाएको छ ।

पहिलो चरणको मतदानले जिल्ला सभापतिको छिनोफानो गर्न नसकेपछि मंगलबार भएको दोस्रो चरणको निर्वाचनमा देउवा र पौडेल पक्षबीच तालमेल भएको थियो । केन्द्रीय सभापतिका आकांक्षीसमेत रहेका कोइराला पक्षका उमेदवारलाई हराएर शेखरको गृहजिल्लामै कमजोर छन भन्ने सन्देस दिन खोजिए पनि मगलबारको मतपरीणले तालमेललाई उल्टाइदिएको छ ।

पहिलो चरणमा संस्थापन देउवा पक्षका दिलीप गच्छदार, संस्थापनइतर कोइराला पक्षका डिकबहादुर लिम्बु र कृष्णप्रसाद सिटौला पक्षका यदु विष्टबीच प्रतिस्पर्धा भएको थियो । पहिलो चरणको चुनावमा लिम्बुले सर्वाधिक १ हजार ५४४, गच्छदारले १ हजार १६६ र विष्टले ५६३ मत ल्याए । कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत ल्याउन नसकेकाले मंगलवार पुनः मतदान भएको थियो ।

मंगलबार भएको मतदानमा कोइराला पक्षका लिम्बुलाई घेराबन्दी गरे पनि मतदाताले भने त्यसलाई विफल बनाइ दिएका छन । मंगलबार मध्यरातमा सार्वजनिक मतपरीणाम अनुसार लिम्बुले १ हजार ९ सय ६ मत प्राप्त गरी जिल्ला सभापतिमा विजयी हुँदा गच्छदारले १ हजार ४२५ मत पाउनु भएको छ ।

मंसिर १२ गते भएको मतदानमा तेस्रो मत प्राप्त गरेका विष्टले संस्थापन पक्षका गच्छदारलाई समर्थन गर्नुभएको थियो । विराटनगर महानगरका मेयर भीम पराजुलीले पनि शेखर कोइरालाको साथ छाडेर सिटौलाको क्याम्पमा गई गच्छदारलाई समर्थन गर्नुभएको हो । सिंह निकट राजु मास्केले पनि गच्छदारलाई समर्थन गर्नुभएको हो । सभापतिका आकांक्षी डा. शेखर कोइरालाको गृहजिल्ला मोरङमा आफू निकट उम्मेदवार लिम्बुलाई पराजित गर्न देउवा, पौडेल, सिटौला पक्ष सबै एक ठाउँमा आएका थिए ।