जनता टाइम्स

१६ मंसिर २०७८, बिहीबार १४:१०

गण्डकीमा कांग्रेस अधिवेशन सुरु हुँदै, पदाधिकारीका नाम अझै टुंगो लागेन


पोखरा, १६ मंसिर । गण्डकी प्रदेशमा नेपाली कांग्रेसको पहिलो अधिवेशन आजदेखि सुरु हुँदैछ । केहीबेरमा उद्घाटन कार्यक्रम राखिएको छ । शुक्रबार मनोनयन तथा शनिबार मतदानको कार्यक्रम छ । मनोनयनको समय नजिकै आउँदासमेत यहाँ उम्मेद्वारहरू टुंगिएको छैन । संस्थापन पक्षले सभापतिमा पर्वतका अर्जुनप्रसाद जोशीलाई टिकट दिएको छ ।

संस्थापनइतर समूहमा पाँच जनाको दाबेदारी छ । कास्कीबाट देवराज चालिसे, शुक्रराज शर्मा, यज्ञबहादुर थापा, नवलपुरका महेन्द्रध्वज जिसी र तनहुँका रघुनाथ पौडेलले उम्मेद्वारी घोषणा गरेका छन् । आकांक्षी धेरै भएपछि वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा.शशांक कोइरालालगायतका नेताहरूको पोखरामा निरन्तर बैठक चलिरहेको छ ।

स्रोतका अनुसार शुक्रराज शर्मा र देवराज चालिसेमध्ये एक जनालाई टिकट दिन लागिएको छ । ‘देवराजको माहोल राम्रो छ । उहाँले टिकट पाउने सम्भावना प्रबल छ,’ एक नेताले भन्नुभयो, ‘अरु तीन जना रिङबाट आउट भइसक्नुभएको छ ।’ सभापतिको टुंगो नलागेका कारण अन्य पदाधिकारीमा पनि अन्योल छ । संस्थापन पक्षले उपसभापतिमा मेखलाल श्रेष्ठ र नेत्र महतलाई उठाउने भएको छ ।

महामन्त्रीमा ईश्वर पाण्डे र कुमार खड्का तथा सहमहामन्त्रीमा राजनराज पन्त, झुलबहादुर आले र ओमकला चालिसेको नाम चर्चामा छ । संस्थापनइतरले भने उपसभापतिमा किरणबाबु श्रेष्ठ र बागलुङका हरिकुमार श्रेष्ठ, महामन्त्रीमा कृष्ण केसी र विष्णु लामिछाने तथा सहमहामन्त्रीमा कल्पना तिवारी र सरिता गुरुङलाई उठाउने देखिएको छ ।

अर्को सहमहामन्त्रीको उम्मेद्वार अझै खोजी भइरहेको छ । मनाङ, मुस्ताङ, म्याग्दी र लमजुङले कुनै पनि पदाधिकारी नपाउने भएको छ । अरु नाम पनि हेरफेर हुन सक्ने पौडेल समूहका एक नेताले बताउनुभयो ।