जनता टाइम्स

१६ मंसिर २०७८, बिहीबार १६:४७

बुद्धसँग जोडिएका स्थलहरूलाई जोडेर एकीकृत योजना बनाउन राष्ट्रपतिको सुझाव


बुटवल, मंसिर १६ । राष्ट्रपति विद्यादेवी भण्डारीले बुद्धसँग सम्बन्धित स्थलहरूलाई जोडेर एकीकृत योजना बनाउन आग्रह गर्नुभएको छ । लुम्बिनी बौद्ध विश्वविद्यालयले बिहीबार आयोजना गरेको कार्यक्रममा बोल्दै राष्ट्रपति भण्डारीले बुद्ध जन्मस्थल र यससँग जोडिएका कपिलवस्तु, नवलपरासी र रुपन्देहीका बुद्ध भूमिहरूलाई एकीकृत योजनाअन्तर्गत ल्याउन आग्रह गर्नुभएको हो ।

बुद्धका उपदेशले विश्वभरका शान्तिप्रेमीहरूको ध्यान तानिरहेकोले यस विषयलाई पाठ्यपुस्तकमै समावेश गर्नुपर्नेमा राष्ट्रपति भण्डारीले जोड दिनुभयो । उहाँले स्थानीय र प्रदेश सरकारले पनि यसतर्फ विशेष ध्यान दिनुपर्ने बताउनु भयो । ‘एकीकृत योजना निर्माणमा होस् वा बुद्धका उपदेश समेटिएको पाठ्यपुस्तक निर्माणमा होस्, स्थानीय र प्रदेश सरकारले पनि ध्यान दिनुपर्छ,’ राष्ट्रपति भण्डारीले भन्नुभयो ।

लुम्बिनी विश्वविद्यालयको १७औँ वार्षिकोत्सव समारोहमा सहभागी हुन राष्ट्रपति भण्डारी लुम्बिनी आउनु भएको हो । त्यस अवसरमा उहाँले लुम्बिनी गुरुयोजना छिटो पूरा गर्न सरकारको ध्यानाकर्षण गराउनु भयो । ‘गुरुयोजनाले राष्ट्रिय अन्तर्राष्ट्रिय महत्व बोकेको छ, गुरुयोजना समयमै पूरा भए मात्रै लुम्बिनीको गरिमामाथि उठाउन सकिन्छ,’ राष्ट्रपति भण्डारीको भनाई थियो । उहाँले लुम्बिनीको साँस्कृतिक महत्वलाई पर्यटनसँग जोडेर अघि बढाउनुपर्नेमा पनि जोड दिनुभयो ।

‘मुलुकको अर्थतन्त्रमा टेवा पुर्याउनका लागि लुम्बिनीको पुरातात्विक र साँस्कृतिक महत्वलाई पर्यटनसँग जोड्न आवश्यक छ,’उहाँले भन्नुभयो । लुम्बिनीको विकासले नै मुलुकको समृद्धिको यात्रालाई अघि बढाउन सक्ने राष्ट्रपतिको भनाइ छ । ‘बुद्ध धर्म मान्ने मात्र होइन, संसारमा शान्ति चाहने सबैले लुम्बिनीलाई विशेष महत्व दिएका छन्, यसको उपयोग गर्दै समृद्धिको यात्रालाई अघि बढाउनु आवश्यक छ,’ राष्ट्रपति भण्डारीले भन्नुभयो ।

कार्यक्रममा लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले तिलौराकोट र रामग्रामलाई लुम्बिनीसँग जोडेर विकास गर्ने हो भने पर्यटन क्षेत्रले नयाँ उचाइ लिने बताउनु भयो । बुद्धको दिएको ज्ञान सबै नेपालीले लिन नसक्दा अनुशासित बन्न नसकेको भन्दै उहाँले यसबाट सबैले शिक्षा लिनुपर्ने बताउनु भयो । शिक्षामन्त्री देवेन्द्र पौडेलले लुम्बिनीको आर्थिक र पर्यटन विकासका लागि अघिल्लो सरकारले ल्याएको योजनालाई अहिलेको सरकारले पनि निरन्तरता दिएको बताउनु भयो । उहाँले लुम्बिनी गुरुयोजना तथा बुद्ध शिक्षासँग जोडिएका विषयलाई तीनै तहका सरकारले विशेष चासोका साथ अगाडि बढाउने बताउनु भयो ।