जनता टाइम्स

१६ मंसिर २०७८, बिहीबार १७:१७

कांग्रेस अधिवेशन : निर्वाचन अधिकृत सम्पर्कविहीन, अधिवेशन अनिश्चित


सर्लाही, १६ मंसिर । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत तेस्रो पटक सर्लाहीमा अधिवेशन गराउन खटिएका निर्वाचन अधिकृत पनि सम्पर्कविहीन भएका छन् । कांग्रेस केन्द्रीय निर्वाचन कमिटीले सर्लाहीमा तेस्रो पटक जिल्ला निर्वाचन अधिकृतको रूपमा खटाएको भरत राउत बिहीवार बिहानैबाट सम्पर्कविहीन बन्नुभएको हो ।

कडा विवादका बीच वडा अधिवेशन गराउनुभएको निर्वाचन अधिकारी राउत बाँकी केही वडाको अधिवेशन सम्पन्न गर्ने र शुक्रबार प्रदेश र क्षेत्रीय अधिवेशन गराउने तयारीमा हुनुहुन्थ्यो । तर, निर्वाचन अधिकृत राउत सम्पर्कविहीन भएसँगै भोलीको लागि तय भएको प्रदेश र क्षेत्रीय अधिवेश समेत अनिश्चित बनेको छ । जिल्लास्थित सुरक्षा निकायको सम्पर्कमा समेत राउत नरहेका स्रोतको भनाइ छ ।

जिल्लामा सोमबार भएको वडा अधिवेशनअन्तर्गत मुख्य गरी निर्वाचन क्षेत्र नम्बर ४ मा चर्को विवाद देखिएको थियो । सोही क्रममा दुई पटक गोलीसमेत चलेको थियो । निर्वाचन क्षेत्र नम्बर ४ स्थित प्रतिनिधि सभा सांसद अम्रेश कुमार सिंह र प्रदेश २ सरकारका महिला बालबालिका युवा तथा खेलकुद मन्त्री वीरेन्द्र प्रसाद सिंह बीच कडा टकरावकोस्थिती सृजना भएको छ ।

विवाद उग्र बन्दै गएको, एकअर्काको अस्तित्व मेटाउने खेलमा नेता लागेपछि असुरक्षा महसुस गर्दै निर्वाचन अधिकृत राउत काठमाडौँ फर्किएको हुन सक्ने केहीको अनुमान पनि छ । तर, हालसम्म यसको पुष्टि भने हुन सकेको छैन । कांग्रेसका संस्थापन पक्षमा मानिनै जिल्ला सभापति र इतर पक्षसँग समेत राउत सम्पर्कमा नरहेका नेताहरूको भनाइ छ ।

सर्लाही कांग्रेसको अधिवेशन गराउन खटिएका दुई निर्वाचन अधिकृत दुई पक्षको चर्को विवाद देखेपछि निर्वाचन गराउन नसक्ने भन्दै राजीनामा दिएर काठमाडौँ फर्किएका थिए । निर्वाचन अधिकृत सम्पर्कविहीन बनेपछि फेरि एक पटक सर्लाहीका कांग्रेस नेता कार्यकर्तामा निराशा छाएको छ । अन्तिम समयमा आएर अधिवेशन प्रक्रिया अन्योलमा परेपछि सर्लाहीबाट कांग्रेसको १४ औँ महाधिवेशनमा प्रतिनिधि सहभागी हुने सम्भावनासमेत अनिश्चित बनेको छ ।