जनता टाइम्स

१७ मंसिर २०७८, शुक्रबार ११:०९

प्रतिकूलतामाझ भव्य रुपमा सम्पन्न एमाले महाधिवेशन


ऐतिहासिक पाँचौँ राष्ट्रिय महाधिवेशनमार्फत जननेता मदनकुमार भण्डारीको अगुवाइमा प्रतिपादित र विकसित जनताको बहुदलीय जनवाद दशौँ राष्ट्रिय महाधिवेशनमा आइपुग्दा समाजवाद निर्माणको घोषित आधार बनेको छ । यो उद्घोष समग्र नेपाली राजनीतिका लागि समाजवाद उन्मुख संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान कार्यान्वयनमार्फत कोशेढुंगा सावित हुनेछ । नेपाली समाजको काँचुली फेर्नका लागि यो संवैधानिक आधार आम मानिसको अनुहार प्रतिबिम्बित हुने साझा दस्तावेज बन्नेछ । यसैमा हामी सबैको कल्याण सम्भव छ

युवराज बास्कोटा

दक्षिणपन्थी अवसरवाद र संगठनात्मक अराजकतालाई परास्त गरौँ ! जबजको मार्गदर्शनमा समाजवादको आधार निर्माण गरौँ !! मूल उद्घोषका साथ नेकपा (एमाले) ले आयोजना गरेको आफ्नो दशौँ राष्ट्रिय महाधिवेशन गएको मंसिर १०–१३, चितवनमा अत्यन्तै उत्साहप्रद वातावरणमा सफलतापूर्वक सम्पन्न भएको छ । साढे सातदशक लामो नेपाली कम्युनिष्ट आन्दोलनमा यसको चुम्बकीय आकर्षणताको रूपमा विकसित राजनीतिक–बैचारिक मुद्दामा प्रस्ट नेकपा (एमाले) मूलतः संविधान निर्माण अघिको कालखण्ड र संविधान जारी भएपश्चात यसको कार्यान्वयनको चरणमा पनि नेपाली राजनीतिको मियो भूमिकामा रहेका कारण देश–दुनियाँले यो महाधिवेशनलाई एमालेप्रतिको जनअभिमत मापनका रूपमा लिएका थिए । यसबेला एमाले पंक्तिसामु निश्चयै केही प्रतिकूलताहरू थिए । पर्दामा उघ्रिएका यी कतिपय प्रतिकूलताहरूलाई सहजै चिर्दै एमाले महाधिवेशनमार्फत अघि बढ्यो । अभूतपूर्व जनसहभागिता, प्राप्त जनसमर्थन, ऐक्यबद्धता र अनुमोदनमार्फत अन्ततः एमाले आफ्नो महाधिवेशनमा मात्र होइन, आशातीत राजनीतिक मुद्दाहरूमा समेत सफल भएको छ र नेपाली राजनीतिमा प्रमुख जिम्मेवार शक्तिको रूपमा उभिएको छ, स्थापित भएको छ ।

महाधिवेशनको रौनकलाई हेर्दा– एमाले मात्र होइन, गैरएमाले चरित्र र राजनीतिक आस्थामा बाँधिएको मानिस पनि जुटेको देखिन्थ्यो, भेटिन्थ्यो । यसको अर्थ– सहभागी आम मानिस आफ्नो राष्ट्रवादी छवि भएको विकासप्रेमी नेतालाई नजिकैबाट अंकमाल गर्न र नेताको राजनीतिक योजनामा उत्साह भर्न आएको देखिन्थ्यो । एमाले स्वयंले ५ लाख जनता महाधिवेशनको मण्डपमा उतार्ने योजना अघि सारेको थियो । आम रूपमा स्वतन्त्र अभिव्यक्तिलाई आधार मान्ने हो भने पनि ८ लाख मानिसको प्रत्यक्ष सहभागिता रहेको देखियो । परोक्ष ढंगले जोडिएको त कति हो कति ! बीबीसीलगायत कतिपय राष्ट्रिय अन्तर्राष्ट्रिय मिडियाले यसलाई ९ लाख, १२ लाख र १५ लाखसम्मको उपस्थिति भने । एमालेप्रति हेलाँपूर्वक तर्क अघि सार्ने मिडियाले पनि यसलाई अढाइ तीन लाखसम्मको जनसहभागिता गन्न र भन्न भ्याएका छन् । चाहे जे होस् ! पवित्र नारायणी नदीको किनारमा सम्पन्न महाधिवेशनको उद्घाटन समारोहका दिन जुटेको मानिसले नारायणघाट बजार र यस आसपासका गल्लीगल्छौडा मात्र होइन, चितवन जिल्लाका प्रायशः स्थलहरू र परासी, नवलपरासीका कतिपय शहरबजारलाई ढाकेको थियो ।

चिरिएको प्रतिकूलता नं. १

कोरोना महामारीको संक्रमणकालीन अवस्था निमिट्यान्न भइसकेको छैन । अर्थात् यो अवस्था कायमै छ । यसलाई समेत बेवास्था गर्दै लाखौंको संख्यामा यसरी लामबद्ध र पंक्तिबद्ध जुट्नु चानेचुने कुरा होइन । कोरोनाकालका पछिल्ला दुइटा वर्षलाई सम्झँदा हामीले ठूलो मानवीय क्षति व्यहोर्नुपरेको कहालीलाग्दो दृश्य परिदृश्यसामु मृत्युको समेत प्रवाह नगरी एमालेको महाधिवेशनमा उर्लिएको नदीको छाल झैँ उर्लिएर सहभागी हुनुले निकै ठूलो अर्थ र महत्त्व राख्दछ ।

बागमती प्रदेशको मध्यस्थलमा महाधिवेशन आयोजित भए पनि लुम्बिनी, गण्डकीलगायत नजिकैका प्रदेशअन्तर्गतका जिल्लाबाहेक दूरदराजका मानिसको सहभागिता र खासगरिकन २ नम्बर प्रदेशको घुँइचोमाथि घुँइचो उपस्थितिले निकै ठूलो र फराकिलो अर्थ राख्दछ । भोटको मतका लागि मात्र प्रयोग गरिने यहाँको राजनीतिक मनोविज्ञानलाईं यसपटक गत्तिलो झापड दिएको छ । स्वयंमा राजनीतिक सचेतना र जागरणले समेत संगठित हुने अवसर दिएको देखिएको छ ।

कोरोना संक्रमण नाउँको यो प्रकृतिप्रदत्त प्रतिकूलतालाई चिर्दै र उछिन्दै मानिसको विराट उपस्थितिले राष्ट्रिय राजनीतिमा एमालेको, एमालेभित्र अध्यक्ष केपी शर्मा ओलीको र समाजवादको आधार निर्माणमा जनताको बहुदलीय जनवादको नेतृत्वको अपरिहार्यतालाई निर्विघ्न शक्तिको रूपमा पुष्टि गरेको छ ।

चिरिएको प्रतिकूलता नं. २

एमाले पार्टी चिरिएको छ, फुटेर दुइटा टुक्रा भएको छ र यो शक्ति क्षतविक्षत भएको छ, भरखरै केन्द्रीय सरकार ढलेको छ, प्रदेश सरकारहरू ढलेका छन् आदि जस्ता भ्रमहरू छताछुल्ल थिए । फलस्वरुप पछिल्लो समयमा एमालेको सैद्धान्तिक धार, राजनीतिक दृष्टिकोण र संगठनात्मक जीवन पनि कमजोर छन्जस्ता विषयमाथि गलत सूचना प्रवाह गरिएको थियो । सत्ताको चरम दोहन गर्दै यस्ता अफवाहबारे घर–घरमा पढाइएको थियो । राजनीतिक रुचिका साथ पलित पोषित कतिपय मिडियाले यस्तै विषयवस्तुको प्रवाहमा आफ्नो सम्पूर्ण तागत खन्याएका थिए ।

यी सबै विषयवस्तुको जोड र कोणलाई हेर्दा– आम मानिसलाई हो कि भन्ने खालको भ्रमले यदाकदा काम गरेकै थियो । यो भ्रमको पर्दा सम्पूर्ण रूपले च्यातेर निर्धक्क अघि बढ्नु, सडक सञ्जाल भरिभराउ मानिसको जमघट देखिनु, आफ्नो विकासप्रेमी नेताको अगुवाइमा विकसित समृद्ध नेपाल : सुखी नेपाली निर्माणको राष्ट्रिय आकांक्षा पूरा गर्ने महान यात्रामा यसको सारथि बन्न दृढतापूर्वक उभिनु अत्यन्तै ठूलो र साहसिक परिघटना थियो । यसबाट एमालेलाई सक्न कम्मर कसेर लागेको सबैखाले प्रतिक्रियावादी शक्तिहरू गलित भएका छन् ।

सम्पन्न महाधिवेशनले मानिसका यी तानाबुनालाई एक झोंकमै चुडाइदिएको छ । भ्रम र अन्यौल सिर्जना गर्न तल्लीन ती मानिसलाई कैयौं प्रश्न र प्रतिप्रश्न गर्ने ठाउँ दिएको छ । राजनीतिमा एउटा फरक खालको मूल्यमान्यता विकास गराएको छ । घटनाक्रममाथि आलोचनात्मक चेतका साथ विश्लेषण र संश्लेषण गर्ने भविष्य निर्माणको प्रश्नमा स्वयंको भूमिकालाई बढाउने आधार तयार गरेको छ ।

चिरिएको प्रतिकूलता नं. ३

२०४६ सालको परिवर्तित नेपाली राजनीतिले विश्वबजारमा नै नयाँ शक्ति सन्तुलनमा कायम गरेको हो । यहिँबाट नेपाली राजनीति निरंकुश राजतन्त्रबाट लोककल्याणकारी उदार लोकतन्त्रमा अवतरण भयो । यहिँबाट आधारभूत जनताका जनजीविकाका सवालमा र समग्र मुलुक विकास–निर्माणको सवालमा सम्भावनालाई केलाउँदै एमाले एउटा शक्तिको रूपमा उघ्रियो । यसबाट तिल्मिएको शक्तिले एमालेविरुद्ध तानाबुना बुन्न थाल्यो । ०५४ सालको पार्टी विभाजनको पुर्ताल नहुँदै विकसित यो कोर्सअन्तर्गत पछिल्लो श्रृंखलासम्म आइपुग्दा अदालतको प्रवेश भएको देखिन्छ ।

एमालेलाई सक्न कथित गठबन्धनसँगको अदालतको सेटिङ, राजनीतिक बार्गेनिङ, कूटनीतिक मर्यादाविरुद्ध राजनीतिको बजारीकरण र यसको दलालीकरणले एमालेप्रति उघ्रिएको वातावरणलाई धुमिल बनाउन खोजिएको थियो । मानिसमा अब के होला त ? भन्ने भ्रम र अन्यौलता त थियो नै । यसमा जेलिएको मनोविज्ञानलाई सूर्योदयको पहिलो किरणले हामीलाई त्यसतर्फ खिचेजस्तै खिच्नु अभूतपूर्व उत्सव थियो ।

कोही शक्ति दशकौंयता सम्मेलन र अधिवेशन नगरीकन आएका छन् केही शक्ति महाधिवेशनको नाउँमा टाउको फोराफोर गर्दै आएका छन् । एमालेमा विकल्प सहितको राजनीतिक कार्यकर्ताको पंक्ति छ, योगदान गरेको र भविष्यमा पनि थप बढी गर्न सक्ने एकसेएक शक्ति तयार भएको छ भन्ने सन्देश समेत प्रवाह भएको छ ।

उपसंहार

दक्षिणपन्थी अवसरवाद र संगठनात्मक अराजकतालाई परास्त गरौँ ! जबजको मार्गदर्शनमा समाजवादको आधार निर्माण गरौँ !! महाधिवेशनको मूल उद्घोषप्रति अभूतपूर्व जनसमर्थन प्राप्त भएको छ, अनुमोदित भएको छ । टुटफुटपरस्त विभिन्न ध्वंसात्मक गतिविधिका बावजुद नेकपा एमाले राष्ट्रको निर्विकल्प राजनीतिक शक्तिको रूपमा नवीकृत भएको छ, गडगडाहट तालीमाझ पुरस्कृत भएको छ ।

नवीकृत र पुरस्कृत यस धारको नेतृत्वमा अध्यक्ष केपी शर्मा ओलीले निर्विरोध राजनेताको रूपमा उचाइ लिनुभएको छ । सिद्धान्ततः जनताको बहुदलीय जनवाद नेपाली भू–राजनीतिक परिवेशअनुरुपको समाजवाद प्राप्तिको दिशामा अग्रसर धारिलो अस्त्र बनेको छ, कम्युनिष्ट तथा बामपन्थी शक्तिका लागि मात्र होइन, परिवर्तन, रुपान्तरण र व्यवस्थापनका क्षेत्रमा क्रियाशील आम व्यक्ति र राजनीतिक शक्तिका लागि पनि शास्त्र होइन, सूत्र बनेको छ ।

ऐतिहासिक पाँचौँ राष्ट्रिय महाधिवेशनमार्फत जननेता मदनकुमार भण्डारीको अगुवाइमा प्रतिपादित र विकसित जनताको बहुदलीय जनवाद दशौँ राष्ट्रिय महाधिवेशनमा आइपुग्दा समाजवाद निर्माणको घोषित आधार बनेको छ । यो उद्घोष समग्र नेपाली राजनीतिका लागि समाजवाद उन्मुख संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान कार्यान्वयनमार्फत कोशेढुंगा सावित हुनेछ । नेपाली समाजको काँचुली फेर्नका लागि यो संवैधानिक आधार आम मानिसको अनुहार प्रतिबिम्बित हुने साझा दस्तावेज बन्नेछ । यसैमा हामी सबैको कल्याण सम्भव छ ।