जनता टाइम्स

१७ मंसिर २०७८, शुक्रबार १५:४२

पदबहालीमै एमाले अध्यक्ष ओलीको आह्वान : गठबन्धनले देश चल्दैन, ताजा जनादेशमा जाऊँ


काठमाडौं, मंसिर १७ । एमाले अध्यक्ष केपी ओलीले देशमा देखिएको राजनीतिक गतिरोध अन्त्य गर्न ताजा जनादेशमा जानुपर्ने बताउनु भएको छ । हालै चितवनमा सम्पन्न १०औँ महाधिवेशनबाट अध्यक्षमा पुनः निर्वाचित हुनुभएका ओलीले पार्टी कार्यालयमा पुगेर पदबहाली गर्दै देशमा देखिएको राजनीतिक गतिरोध अन्त्य गर्न अब ताजा जनादेशमा जानुको विकल्प नरहेको बताउनु भयो ।

अदालतमा देखिएको अवस्था पाँचदलीय गठबन्धनको विसंगतिको प्रतिबिम्ब रहेको भन्दै उहाँले गलत फैसला गराएर अदालतको हुर्मत लिने काम गठबन्धनले गरेको बताउनु भयो । सरकारले देशको समय बर्बाद बनाइरहेको भन्दै अध्यक्ष ओलीले २८ मंसिरमा बोलाएको संसद् बैठक चल्न नसक्ने प्रष्ट पार्नुभयो ।

‘सभामुखले एमालेले निष्कासन गरेका नेतालाई संरक्षण गर्ने, एमाले फुटाउन लाग्ने, यस्ता कार्यले सभामुख निष्पक्ष हुन सकेनन्’, उहाँले भन्नुभयो, ‘न्यायालय र संसदमा देखिएका समस्या समाधान गर्न सरकार लाग्नुपर्ने हो । तर, विपरीत दिशामा अघि बढेको छ ।’

यस्ता गतिविधिले देश चल्न नसक्ने भन्दै अध्यक्ष ओलीले अब ताजा जनादेशमा गएर देशलाई निकास दिनुपर्ने बताउनु भयो । वर्तमान सरकारको छिटोभन्दा छिटो अन्त्य गर्नुपर्ने भन्दै उहाँले जनताले मुल्यांकन गरेर फैसला गर्ने बताउनु भयो । अध्यक्ष ओलीसँगै बरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल, उपाध्यक्षहरु, महासचिव शंकर पोखरेल र उपमहासचिवलगायतका नेताहरुले पदबहाली गर्नुभएको छ ।