जनता टाइम्स

१९ मंसिर २०७८, आईतवार ०८:५९

राष्ट्रिय राजनीतिमा नेतृत्व जन्माउँदै झापा, ओलीपछि राजेन्द्र लिङ्देनले सम्हाले पार्टीको कमाण्ड


झापा, मंसिर १९ । राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा झापाका राजेन्द्र लिङ्देन निर्वाचित हुनुभएको छ। लामो समयदेखि राप्रपाको राजनीतिमा रहेका लिङ्देन झापा हल्दिबारीका हुन् । लिङ्देनको विजयसँगै झापा नेपाली राजनीतिमा फेरि एकपटक चर्चामा आएको छ ।

यसै साता नेपालकै ठूलो राजनीतिक दल नेकपा एमालेको अध्यक्षमा दोस्रो कार्यकालका लागि झापाका केपी शर्मा ओली निर्वाचित हुनुभएको थियो । लिङ्देनको विजयसँगै राष्ट्रिय राजनीतिमा झापाले फेरि नयाँ नेतृत्व जन्माएको छ । एमाले र राप्रपामा मात्र हैन कांग्रेसमा समेत प्रभावशाली नेता झापामा छन् । कांग्रेस नेता कृष्णप्रसाद सिटौला भद्रपुरका हुन् भने विश्वप्रकाश शर्मा मेचीनगरबासी हुन् ।

लिङ्देन पार्टीमा मात्र हैन संसदीय निर्वाचनमा पनि सफल हुनुहुन्छ । पार्टी सबैतिर हारेर एक सिटमा खुम्चिँदा लिङ्देनले कांग्रेसका प्रभावशाली नेता सिटौलालाई हराएर प्रतिनिधिसभा सदस्यमा विजयी हुनुभएको थियो । त्यति मात्र हैन राप्रपा देशभर खुम्चिँदा झापामा भने सुधारिएको छ । १५ पालिकामध्ये कचनकवल, हल्दिबारी र गौरीगञ्ज गाउँपालिकाको अध्यक्षमा राप्रपाले जितेको छ । यो लिङ्देनकै मिहिनेत हो ।

पार्टीलाई पुरानै लयमा फर्काउनमा आफूले नेतृत्व लिएको बताउँदै आउनु भएको छ लिङ्देन । विगतमा कमल थापा निकट भएर काम गरेका लिङ्देनले यसपटक भने थापाविरुद्ध नै अध्यक्षमा प्रतिस्पर्धा गरी बिजयी बन्नुभएको हो । उहाँले यो विद्रोह नभई बाध्यात्मक अवस्था भएको बताउँदै आउनु भएको छ ।

हिन्दू धर्मको वकालत गर्ने पार्टीका अध्यक्ष लिङ्देन भने किराँत धर्म मान्छन् । ‘हामी धर्मको महलमा किराँत लेख्छौँ,’ राजेन्द्रका भाइ तथा राप्रपा झापा क्षेत्र नम्बर ३ ‘ख’ अध्यक्ष रविन्द्र भन्नुहुन्छ, ‘राप्रपाले दिएको विषय व्यक्ति र जाति विशेष हैन । पहिचानको कुरा हो । हामीलाई दोधार र अप्ठेरो हुँदैन । मेचीदेखि महाकालीका समग्र नेपालीलाई जोड्ने सनातन हिन्दू धर्म हो ।’

हल्दिबारी गाउँपालिका अध्यक्षसमते रहेका रविन्द्रले दाइको जीतसँगै राप्रपामा पुस्तान्तरण आवश्यकतालाई पुष्टि गरेको बताउनु भयो । ‘राप्रपामा लामो समयदेखि नेतृत्व परिवर्तनको कुरा आइरहेको थियो । वास्तविक रूपमा नयाँ नेतृत्वको आवश्यकता रहेछ भन्ने प्रमाणित गरेको छ,’ उहाँले भन्नुभयो, ‘राप्रपाको एजेन्डा सनातन हिन्दू धर्म र संवैधानिक राजसंस्थालाई स्थापित गराउन यो विजयले सहजता मिलेको छ ।’ यो जीतले आउँदो चुनावसम्म देशव्यापी संगठन गर्न सहज हुने रविन्द्र बताउनु हुन्छ । राजेन्द्रले पार्टीलाई अघि बढाउन कमल थापासहितका पुराना नेतालाई पनि समेटेर लैजाने बताउनु भयो ।