काठमाडौं, मंसिर १९ । नेकपा एमालेको दसौं। महाधिवेशनबाट स्थानीय तहका जनप्रतिनिधिहरु उल्लेख्य मात्रमा केन्द्रीय नेतृत्वमा पुगेका छन् । पार्टीको प्रदेश र स्थानीय तहका नेताहरु केन्द्रीय नेतृत्वमा उक्लिएपछि एमालेका स्थानीय कार्यकर्ताले पनि आफ्नो पहुँच केन्द्रीय राजनीतिमा स्थापित हुने अपेक्षा गरेका छन् ।
एमालेको केन्द्रीय समितीमा कमल गाउँपालिकाकी अध्यक्ष मेनुका काफ्लेदेखि काठमाडौं महानगरका प्रमुख विद्यासुन्दर शाक्यसम्म समेटिनु भएको छ । चारवर्ष अघि स्थानीय तहमा निर्वाचित हुँदा अधिकांश जिल्ला तहमा रहेका नेताहरुले स्थानीय तहको संसदीय राजनीतिमा प्रवेश गरेसँगै आफ्नो राजनीतिक उचाइ पनि बढाउदै लगेका हुन् । कतिपय त स्थानीय कमिटीबाट एकैचोटी केन्द्रीय सदस्यमा छलाङ मारेका छन् । अध्यक्ष केपी शर्मा ओलीको गृहनगर दमक नगरपालिकाकी उपमेयर गीता अधिकारीलाई यसपालिको महाधिवेशनले त्यस्तै अवसर जुराइदिएको छ ।
करिब तीन दशकको प्राध्यापन पेसालाई बिट मार्दै स्थानीय तहको संसदीय राजनीतिमा प्रवेश गर्नुभएकी अधिकारी आफू फरक क्षेत्रबाट पार्टी काममै लागेको बताउनुहुन्छ । ‘राजनीतिलाई भूगोलको आँखाले मात्र हेर्नु भएन । म एमालेमा २०४८ सालदेखि निरन्तर क्रियाशिल छु । कहिले प्राध्यापक संघमा त कहिले बुद्धिजीवी परिषदका कमिटीमा म आवद्ध थिएँ,’ अधिकारी भन्नुहुन्छ ‘२०७४ सालको स्थानीय तहको चुनावपछि म स्थानीय तहको संसदीय राजनीतिमा आँए । त्यसपछि म निरन्तर पार्टीको निर्देशनमा स्थानीय तह मार्फत जनताको काम गरिरहेकी छु ।’ अधिकारीको भनाइमा आफ्नो क्षमता र विगतको कामको मूल्यांकनका आधारमा पार्टीले केन्द्रीय सदस्यको बनाएको हो ।
तुलसीपुर उपमहानगरका मेयर घनश्याम पाण्डे पनि केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको छ । पार्टीको लुम्बिनी प्रदेश कमिटीका सदस्य उहाँ आफ्नो राजनीतिक उचाइले केन्द्रीय सदस्यलाई ‘डिजर्व’ गर्ने बताउनुहुन्छ ।‘प्रदेश कमिटीमा पुगेको मान्छे उक्लिने ठाउँ भनेको केन्द्रीय कमिटी नै हो,’ पाण्डे भन्नुहुन्छ ‘ पार्टीले स्थानीय तह हाँकेका जनप्रतिनिधीलाई जुन ढंगले केन्द्रीय कमिटीमा भित्र्यायो । यसले पार्टी हाम्रो कामबाट सन्तुष्ट छ भन्ने सन्देश पनि गएको छ । ’
सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाकी उपप्रमुख मोहनमाया ढकालले पनि कर्णालीका महिलाको प्रतिनिधीत्व गर्दै एमालेको केन्द्रीय सदस्यमा फड्को हान्नु भएको छ । एमालेको जिल्ला,प्रदेश र अनेम संघको केन्द्रीय सदस्य हुँदै ढकालले एमालेको केन्द्रीय राजनीतिमा आफूलाई प्रवेश गराउनुभएको छ । ‘संविधान र पार्टीको विधानले केन्द्रीय कमिटीमा एक तिहाइ महिलाको अनिवार्यता गरेसँगै पालिका उपप्रमुखहरुलाई केन्द्रीय राजनीतिमा प्रवेश गर्न सहज भएको छ’ ढकाल भन्नुहुन्छ ‘स्थानीय तहको संसदीय राजनीतिमा रहेका हामीलाई पार्टी नेतृत्वले विश्वास गर्नु भनेको अहिलेसम्म हामीले गरेको कामको पुरस्कार पनि हो । पार्टीको यो विश्वासलाई कायम राखेर स्थानीय तहमा पार्टीको पक्षमा जनमत बनाउन हामीलाई थप जिम्मेवारी पनि थपिएको छ । ’
मिथिला नगरपालिकाका प्रमुख हरिनारायण महतो पालिकाका प्रमुखख र उपप्रमुखलाई एमालेले ठूलो संख्यामा केन्द्रीय कमिटीमा भित्र्याएपछि स्थानीय तहको गरिमा थप बढेको बताउनुहुन्छ । ‘हिजो पालिकाका प्रमुख उपप्रमुखमा प्रतिस्पर्धा गर्न जिल्ला र स्थानीय तहका नेताहरु मात्र अघि सर्थे अब यी पदहरुमा एमालेका मात्र होइन अरु पार्टीका पनि केन्द्रीय सदस्यहरुले नै दाबी गर्नेछन् ’ महतो भन्नुहुन्छ, ‘स्थानीय तह हाँक्न पनि अब राजनीतिक उचाइ भएकै मान्छे चाहिन्छ भन्ने मान्यता एमालेले यसपाली स्थापित गराएको छ । ’
धरान उपमहानगरपालिकाकी उपप्रमुख मञ्जु भण्डारी पार्टीले केन्द्रीय कमिटीमा राखेपछि थप राजनीतिक र संसदीय उचाइ हासिल गर्न सहज भएको प्रतिक्रिया दिनुहुन्छ । ‘एमाले देशको ‘ट्रेण्ड सेटर’ पार्टी हो । यसपाली केन्द्रीय कमिटीमा ३३ प्रतिशत महिलाका अतिरिक्त स्थानीय तहका प्रमुख उपप्रमुखले जसरी अवसर पाइयो यो अरु पार्टीले पनि पछ्याउनै पर्ने कदम हुनेछ ।’
यी हुन केन्द्रीय सदस्य बनेका प्रमुख-उपप्रमुख
प्रमुख
रोमनाथ ओली दमक नगरपालिका झापा
सोमप्रसाद मिश्र चाँगुनारायण नगरपालिका भक्तपुर
विद्यासुन्दर शाक्य काठमाडौं महानगरपालिका काठमाडौं
हरि नारायण महतो मिथिला नगरपालिका धनुषा
शिवराज सुबेदी बुटवल उपमहानगरपालिका रुपन्देही
घनश्याम पाण्डे तुलसीपुर उपमहानगरपालिका दाङ
सीपी घर्ती भेरी नगरपालिका जाजरकोट
नरुलाल चौधरी घोराही उपमहानगरपालिका दाङ
प्रभा बराल राप्ती नगरपालिका चितवन
सीमा क्षेत्री पुतलीबजार नगरपालिका स्याङ्जा
मेनुका काफ्ले कमल गाउँपालिका झापा
उपप्रमुख
मीना उप्रेती मेचीनगर झापा
गीता अधिकारी दमक झापा
मोहनमाया ढकाल वीरेन्द्रनगर सुर्खेत
मञ्जु भण्डारी धरान उपमहानगरपालिका सुनसरी
लक्ष्मी गौतम इटहरी उपमहानगरपालिका सुनसरी
सकुन्तला बस्नेत धनकुटा नगरपालिका धनकुटा
गीता बञ्जरा पनौती नगरपालिका काभ्रे
गोम आचार्य बुटवल उपमहानगरपालिका बुटवल
सविता रसाइली शुक्लगण्डकी नगरपालिका तनहुँ












प्रतिक्रिया दिनुहोस्