काठमाडौं, मंसिर २० । एमाले महासचिव शंकर पोखरेलले एमालेले राजनीतिक मुद्दालाई जनताको विषयवस्तु बनाउन चाहेको र त्यसैअनुसार अघि बढने प्रष्ट पार्नुभएको छ । महासचिव पोखरेलले तात्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक मुद्धालाई जनता माझ लैजानकै लागि संसद विघटन गरेको तथ्य पनि खोल्नुभएको छ ।
अनेरास्ववियुले आज आयोजना गरेको संगठन विस्तार तथा सदस्यता वितरण अभियान कार्यक्रमलाई सुभारम्भ गर्दै महासचिव पोखरेलले सत्ता गठबन्धनले राजनीतिक मुद्दालाई जनतामा लैजाने भन्दा अदालतको विषय बनाइरहेको बताउनुभयो । उहाँले पार्टी अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री केपी शर्माओलीले संसद विघटन गरेर नयाँ जनादेशमा जाने फैसला उचित भएको पनि प्रष्ट पार्नुभयो । नयाँ जनादेशमा जाने फैसला लोकतन्त्रका विरुद्धमा हुनै नसक्ने उहाँको भनाई छ ।
‘नयाँ जनादेशमा जाने फैसला लोकतन्त्रका विरुद्धमा हुन्छ र ?’, महासचिव पोखरेलको प्रश्न थियो । उहाँले कुनैपनि मुद्दामा राजनीतिक दलले निरुपण गर्न नसके जनतामा जाने विश्वव्यापी मान्यता रहेको भन्दै त्यो नै संसदीय प्रजातन्त्रको विशेषता भएको बताउनु भयो । ‘जनतामा जाने फैसलाविरुद्ध मुद्दा मामिला गर्दै राजनीतिको विषयलाई अदालतमा लैजानेहरू लोकतन्त्रका विरोधी हुन, किनकि राजनीतिको सर्वेसर्वा राजनीतिक दलहरु हुन् अदालत होइन,’ पोखरेलले भन्नुभयो, ‘हो दुई पटक विघटन र पुनःस्थापना पनि भएको हो । तर आज अदालतमा भएको बहसलाई सुन्नुस् त ।’ पोखरेलले अदालतभित्रै स्वार्थको खेल भएको तथ्यले पुष्टि गरिसकेको पनि बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस्