जनता टाइम्स

२१ मंसिर २०७८, मंगलवार १३:०२

ओली भेट्न बालकोट जाँदै बारका पदाधिकारी, प्रधानन्यायाधीश हटाउन अनुरोध गर्ने


काठमाडौं, २१ मंसिर । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग्दै आन्दोलनरत नेपाल बार एसोसिएसन र सर्वोच्च अदालत बार एसोसिएसनका पदाधिकारीले आज नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्ने भएका छन् । ओली भेट्न नेपाल बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठ, सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्यको नेतृत्वमा अधिवक्ताहरु रामशाहपथस्थित बार एसोसिएसनको कार्यालयबाट बालकोटतिर प्रस्थान गर्नुभएको छ ।

ओलीले साढे १२ पछिको समय भेटका लागि दिनुभएको छ । सर्वोच्च बारका अध्यक्ष शाक्यले अरु नेताजस्तै ओलीलाई पनि न्यायको विकृति विसंगति, भ्रष्टाचार र बिचौलिया अन्त्यमा प्रधानन्यायाधीश बाधक बनेको भन्दै जबराको बहिर्गमनका लागि संवैधानिक प्रक्रिया (महाभियोग) अघि बढाउन अनुरोध गरिने बताउनुभयो ।

यसअघि बारका पदाधिकारीले एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङलाई भेटेर ध्यानाकर्षण गराएको थियो । नेम्वाङले नेतृत्वको ध्यानाकर्षण गराउने वचन दिनुभएको थियो । एमाले अध्यक्ष ओली भने प्रधानन्यायाधीश जबराको बहिर्गमन गराउने हो भने संसद विघटन बदर गरेर परमादेश दिने पाँचै जना न्यायाधीशले राजीनामा दिनुपर्ने तर्क गर्दै आउनुभएको छ ।