जनता टाइम्स

२१ मंसिर २०७८, मंगलवार १५:३०

बार पदाधिकारीसँग ओलीले खोले मनको कुरा, यस्तो छ न्यायालयलाई शतप्रतिशत सुधारको खाका


काठमाडौं, मंसिर २१ । एमाले अध्यक्ष केपी शर्मा ओलीले न्यायालय सुधारको मुद्धामा एमालेको साथ रहेको भन्दै शतप्रतिशत सुधारको बाटोमा अघि बढन नेपाल बारलाई सुझाउनु भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवराबिरुद्ध महाअभियोग लगाएरु हटाउने मागसहित आफ्नो निवास बालकोटमा आएका नेपाल बारका पदाधिकारीहरुलाई अध्यक्ष ओलीले यस्तो बताउनु भएको हो ।

‘अहिलेको न्यायालयको भूमिका संबिधान, लोकतन्त्र, जनता कसैको हित गर्ने खालको छैन, न्यायकै मजाक उडाउने काम भएको छ, त्यसलाई सुधार गर्न अनिवार्य छ, यो तपाई हामी सवैले अनुभुति गरेको कुरा नै हो,’ ओलीले भन्नुभयो, न्यायालय सुधारको कुरामा तपाईहरुलाई एमालेको साथ छ, यत्ति चाँहि गरौं–तपाईहरुले २० प्रतिशत सुधारको कुरा गर्नुभयो, सुधारको कुरालाई शतप्रतिशत बनाएर अगाडि बढौं, हामी साथमा छौं ।’

एमाले अध्यक्ष ओलीसँग बरिष्ठ अधिबक्ता एवं नेपाल बारका पूर्वअध्यक्ष शम्भु थापाले अव के अपेक्षासहित फकौं त भन्ने प्रश्न् गर्नुभएपछि ओलीले शतप्रतिशत बनाएर अघि बढन सुझाउनु भएको हो । ओलीको यो भनाई प्रधानन्यायाधीश चोलन्द्रसँगै इजलाशमा बसेर लेनदेन गर्ने अन्य चार न्यायाधीशहरु दीपककुमार कार्की, मिरा खडका, इश्वर खतिवडा र आनन्दमोहन भट्टराईलाई पनि न्यायालयाट बिदा दिनेतर्फ लक्षित छ । अध्यक्ष ओलीले सर्वाेच्चको संबैधानिक इजलाशले संबिधान भन्दा बाहिर गएर लेनदेनको आधारमा फैसला गरेकै कारण न्यायालय अहिले यति ठूलो संकटमा परेको र न्यायापालिकामाथि नै जनताको बिश्वाश घटेको बताउनु भयो ।

‘यदि फैसला कानूनसम्मत थियो भने सट्टापट्टा किन गर्नुपर्यो ? पाँच दलले जसरी तथाकथित न्याय पायो सम्मानित सर्वाेच्च अदालतबाट, त्यसैको रिफ्लेक्ट त हो नि,’ ओलीले भन्नुभयो, ‘ड्राफ्टमा सही गर्दा लेनदेन गरेको खुल्यो, ड्राफ्ट गर्नेको लेनदेन किन खुलेको छैन ? त्यहाँ पनि लेनदेन नै छ भन्ने त आइसक्यो ।’

एमाले अध्यक्ष ओलीले सत्तारुढ पाँच दलीय गठबन्धन न्यायालय सुधारका लागि बारले उठाएको मुद्धामा साथमा छन भन्ने भ्रम नपाल्न पनि सुझाउनु भयो । ‘न्यायलयलाई तत्काल सच्याएर लान सक्ने संभावना म त देख्दिन । तपाई हामीहरु नै कति तयार छौं ? त्यो हुनुपर्यो, त्यस्का लागि राजनीतिक दल, न्यायधीशहरु सच्चिन आवश्यक छ, अधिबक्ताहरु पनि सच्चिनु पर्ने आवश्यकता छ,’ ओलीले भन्नुभयो, ‘चोलेन्द्र शमशेरले राजीनामा गर्दैमा वा उनलाई महाअभियोग लगाएर हटाउँदैमा न्यायलयमा सुधार हुन्न ।

ओलीले थप्नुभयो, ‘ न्यायालय सुध्रिनु पर्छ भन्ने कुरामा हामी गम्भीर छौं । हामीसँग दुई तिहाई छैन, एक तिहाइ भन्दा अलिकति बढी छौं । हामी निर्णायक होइनौं, कोही पनि निर्णायक छैन तर तपाईहरुलाई हामी बाधक छौं भनेर परिराखेको छ । राजनीतिक पार्टी तपाईहरुको साथमा छँदै छैन । भन्नका लागि भनिराखेको छ । गिभ एण्ड टेक गर्नेले कसरी महाअभियोग लगाउँछ ? तपाईहरुको भावना न्यायालय सच्याउ भन्ने देख्छु तर लेनदेन गर्नेको त्यो छैन । हामी तपाईहरुको साथमा नै छौं ।’

उहाँले न्यायाधीशहरुको भुमिकामाथि नै गम्भीर प्रश्न उठिसकेको बताउनु भयो । ‘न्यायाधीशहरु एक पक्षका वकिल बसेर जे तय गरेको छ, त्यो त ज्यादै खतरनाक कुरा हो नि । त्यसैले यो अलिक जटिल देख्छु,’ उहाँले भन्नुभयो, ‘चोलेन्द्र शमशेर भन्नुहुन्छ, म राजीनामा दिन्न, संबैधानिक प्रक्रिया पुर्याएर हटाउ ।’ शेरबहादुरजी भन्नुहुन्छ, मलाई प्रधानमन्त्री बनाको छ म कसरी निकाल्छु ?’ यही होइन र मिलमतो भनेको ?’
न्यायालय सच्याउने कुरामा र पुर्णता दिने कुरामा भने एमाले साथमै उभिने उहाँको भनाई छ ।