जनता टाइम्स

२१ मंसिर २०७८, मंगलवार १६:५५

वकिलहरुसामू ओलीको खुलासा : महाभियोगमा देउवा–प्रचण्ड नै तयार छैनन


काठमाडौं, मंसिर २१ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा हट्दैमा न्यायलय सच्चिने सम्भावना आफूले नदेखेको प्रष्ट पार्नुभएको छ । आफ्नै निवासमा आज नेपाल बार र सर्वोच्च बार एसोसिएसनका पदाधिकारीसहित कानुन व्यवसायीहरुसँगको भेटघाटमा अध्यक्ष ओलीले न्यायाधीश, राजनीतिक दल र कानुन व्यवसायीको आ–आफ्नै स्वार्थ भएकाले न्यायलयलाई तत्काल सच्याएर लाने सम्भावना आफूले नदेखेको बताउनु भएको हो ।

‘न्यायलयलाई तत्काल सच्याएर लाने सम्भावना मैले देखेको छैन । किनभने तपाईं हामी कति तयार छौं भन्ने प्रश्न महत्वपूर्ण हो । राजनीतिक दल पनि सच्चिनुपर्नेछ । न्यायाधीश पनि सच्चिनुपर्ने छ । अधिवक्ताहरु, बार पनि सच्चिनुपर्ने आवश्यक देख्छ,’ अध्यक्ष ओलीले भन्नुभयो । उहाँले प्रधानन्यायाधीश जबरालाई हटाएर यो यो फैसला गराउने भनेर न्यायाधीश, एमिकस क्युरी, एकपक्ष वकिल बसेर तय गरिएको भन्दै यसरी न्यायलय नसच्चिने पनि बताउनु भयो । ‘अस्ति न्यायाधीश, एमिकस क्युरी र एकपक्ष वकिल बसेर जे तय गरेको छ, त्यो विरोधाभाष कुरा भयो । त्यसले कसरी सच्चिन्छ ?’ ओलीको प्रश्न थियो ।

उहाँले न्यायलय सुधारको कुरामा एमाले प्रतिबद्ध रहेको तर सबैले कमजोरीहरु सुधार्दै लानुपर्नेमा जोड दिनुभयो । ‘यो अभियानलाई पूर्णता दिउ । न्यायलय सुधारका २० प्रतिशत कुरा उठाउनुभयो । १०० प्रतिशत बनाएर आउनुस,’ ओलीले भन्नुभयो ।

महाभियोगमा देउवा–प्रचण्ड नै तयार छैनन

अध्यक्ष ओलीले प्रधानन्यायाधीशलाई महाभियोग लगाउन सत्ता गठबन्धन नै तयार नभएको पनि स्मरण पनि गराउनु भयो । गठबन्धनका एक जना नेता (प्रचण्ड) ले प्रधानन्यायाधीशले कुनै लेनदेन नगरेको, कांग्रेसको कोटाबाटै मन्त्री (गजेन्द्र हमाल) भएको स्पष्टीकरण दिएकाले राजीनामा दिनुनपर्ने तर्क गरेको उल्लेख गर्दै ओलीले भन्नुभयो, ‘चोलेन्द्रजी राजीनामा दिन्न । संवैधानिक प्रक्रियाअनुसार जसरी आएको हो त्यसरी नै जान्छु भन्नुहुन्छ । शेरबहादुर जी भन्नुहुन्छ–मलाई प्रधानमन्त्री बनाएको छ, कसरी निकालौं ?’

ओलीले सत्ता गठबन्धन नेता नै तयार नभएकाले कसरी महाभियोग अघि बढ्छ भनेर प्रश्नसमेत गर्नुभयो । ‘तपाईहरुको महाभियोग कसरी दर्ता हुन्छ, उहाँहरुले त कांग्रेसकै कोटाबाट मन्त्री बनेको हो, प्रधानन्यायाधीशले किन राजीनामा गर्ने भनिरहनुभएको छ । गठबन्धनका नेता (प्रचण्ड), प्रधानमन्त्री नै भनिरहनुभएको छ,’ बार पदाधिकारीसँग ओलीले भन्नुभयो ।

महाभियोगमा एमाले बाधक बनेको भन्ने पारिएकोमा प्रष्ट हुन पनि ओलीले सुझाउनु भयो । उहाँले भन्नुभयो, ‘हामी पनि बाधक छौं भन्ने परेको छ । केही साथीहरु डबल गेम खेलिरहेको छ । हामी गम्भीर छौं । भित्रबाट भन्ने हो भने मसँग दुइ तिहाइ छैन । एकतिहाइ मात्रै हो । हामी निर्णायक होइन । कोही पनि एक्लै निर्णायक छैन ।’

ओलीले न्यायाधीशहरुको भूमिका स्वच्छ र निष्पक्ष नरहेको भन्दै न्यायलय सच्याउने कुरामा पूर्ण रुपमा आउन वकिलहरुलाई सुझाव दिनुभयो । ‘न्यायलय सच्चिन जरुरी छ । न्यायिक भूमिका भइराखेको छैन । श्रीमानहरुको भूमिका जस्तो हुनुपर्ने त्यस्तो भएको छैन,’ उहाँको भनाई थियो । निष्पक्ष र स्वच्छ न्यायलयले मात्रै न्याय दिने भन्दै ओलीले निष्पक्षता कुरा बारले नउठाएको भन्दै प्रष्ट दृष्टिकोणसहित अघि बढन सुझाउनु भयो । न्यायिक क्षेत्र अहिले ध्वस्त भएको भन्दै यस स्थितिबाट न्यायलाई स्वच्छ, निष्पक्ष र स्वतन्त्र बनाउन आफूहरुले चाहेको उहाँको भनाई थियो । ‘अहिलेको अवस्था न्यायिक स्वतन्त्रता दुरुपयोग गरेर आयो । सदुपयोग हुनुपर्‍यो । साच्चै स्वतन्त्र हुनुपर्‍यो । न्यायमूर्ति निष्पक्ष र न्यायिक मर्यादाभित्र रहनुपर्‍यो । स्वच्छ र नैतिकता हुनुपर्‍यो,’ अध्यक्ष ओलीले भन्नुभयो ।

उहाँले परमादेशको फैसलामा सेटिङ भएको तथ्यलाई पुनः स्मरण गराउनु भयो । अमेरिकाबाट न्यायाधीशले संविधानबाट ओलीलाई हटाउन नसक्ने भएकाले आउट अफ ट्रयाकबाट हटाएको इमेल, गठबन्धनका नेताले न्यायाधीशहरुको बचाउ गरेको र मानपदवीबाट विभूषित गरेको घटनाले लेनदेन प्रष्ट भएको उहाँको भनाई छ । ‘श्रीमानहरु संविधानबाहिर गएर फैसला गरेको भन्नुहुन्छ यो कुरा कतिको न्यायोचित हुन्छ । म कसै व्यक्तिको स्वार्थका लागि जीवन समर्पण गरेर आएको हैन । लोकतान्त्रिक मूल्य मान्यता हुनुपर्‍यो । न्यायलयले कति ठाउँमा आफ्नो सीमा भत्कायो । बार नाघ्यो ?’ ओलीको प्रश्न थियो ।

उहाँले थप्नुभयो, ‘संबिधानको धारा ७६ अनुसार प्रधानमन्त्रीलाई बहुमत पुग्छ कि पुग्दैन राष्ट्रपतिले हेर्ने हो । अदालतले परमादेश दिएर संविधान संशोधन गर्ने ? संशोधन गर्न पाइन्छ ? यति गते, बजे गर यस्तो गर भनेर भन्ने हो अदालतले ? विघटन राजनीतिक मुद्दा हो । बहस राजनीतिक भयो । तर फैसला पनि राजनीतिक हिसाबले आयो । राजनीतिक हिसाबले आउनु हुन्थेन । अब सच्याउनु पर्छ । यदि फैसला सहि थियो भने किन लेनदेन गर्नुपर्‍यो । अहिलेको रिफ्लेक्सन सत्ता गठबन्धनले तथाकथित पाएको फैसलाको परिणाम हो । न्यायमूर्तिको ड्राफ्टले नै लेनदेन गरेको खुल्यो ।’

ओलीले अधिवक्ताहरुलाई पनि मुलुक र संबिधानको हित हेर्न सुझाउनु भयो । उहाँले भन्नुभयो, ‘तपाईहरुको शैली विद्धानहरुले चलाउने अभियानको खालको हुनुपर्छ । कहिले काहीँ बेग्लै दृश्य देखियो ।’