जनता टाइम्स

२२ मंसिर २०७८, बुधबार १९:३५

एमाले केन्द्रीय कमिटी बैठकका १५ एजेण्डा तय, यी हुन मनोनयनदेखि कार्यबिभाजनसम्मका कार्यसूची


काठमाडौं, मंसिर २२ । नेकपा (एमाले) केन्द्रीय कमिटीको बैठकमा १५ ओटा एजेण्डा तय भएको छ । यही मंसिर २५ र २६ गते भक्तपुरको गठ्ठाघरस्थित जर्मन हाउस हस्पिटालिटीमा बस्ने बैठकका लागि १५ ओटा एजेण्डा तय गरी सवै केन्द्रीय सदस्यहरुलाई पठाइएको केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो ।

उहाँका अनुसार शनिबार ११ बजेदेखि सुरु हुने बैठकमा १५ वटा कार्यसूचीमाथि छलफल हुने छ । ‘बैठकमा १५ ओटा कार्यसूची रहेको छ, सवै केन्द्रीय सदस्यहरुलाई पठाइएको छ,’ तामाङले जनताटाइम्स डटकमसँग भन्नुभयो । तामाङका अनुसार बैठकमा बाँकी केन्द्रीय सदस्यहरुको सपथग्रहण, महाधिवेशनको समीक्षा, केन्द्रीय कमिटी सदस्यहरुको मनोनयन, पोलिटव्युरो गठन र स्थायी कमिटीको गठन रहेका छन ।

यसैगरी केन्द्रीय सल्लाहकार परिषद् गठन, केन्द्रीय सदस्यहरुको कार्य विभाजन, प्रदेशमा रिक्त पदाधिकारीको मनोनयन, जिल्ला र प्रदेश अधिवेशनको मिति निर्धारण रहेका छन । यस्तै विधान सम्पादन र नियमावली संशोधन, बैठक सञ्चालन कार्यविधि, केन्द्रीय कार्यालय व्यवस्थापन, महाधिवेशनको सन्देश तथा पार्टी प्रवेश अभियान, वरीयताक्रम निर्धारण र जनसंगठनको सुदृढिकरण अभियानलाई पनि बैठकको कार्यसूची बनाइएको छ ।

एमाले महाधिवेशनलगत्तै पहिलो बैठक बसे पनि लामो कार्यसूचीसहितको बैठक शनिबारदेखि बस्दैछ । बैठकले संगठन सुदृढिकरणको ठोश खाकासमेत ल्याउने छ ।