जनता टाइम्स

२४ मंसिर २०७८, शुक्रबार १५:१२

एमाले बैठकले एकाएक चर्चामा आयो वर्षौ पुरानो आकर्षक जर्मन होम


रमेश गिरी, भक्तपुर । मध्यपुरथिमि नगरपालिका–३ गठ्ठाघरमा वर्षौ अगाडि जर्मन शैलीमा बनेको एउटा सुन्दर घर, जस्ताको तस्तै उभिएको छ । घर वरिपरिमा ठूला रुखहरु र खाली जमिनलाई सम्याएर धमाधम नयाँ संरचनाहरु निर्माण भइरहेका छन । भक्तपुर जिल्लामै फरक शैलीमा निर्माण गरिएको ‘जर्मन होम हस्पिटालिटी’ ले आफ्नो स्वरुपमा पूर्णता पाउन अझै एक महिना लाग्ला । तर जर्मन होमको पुरानो आकर्षक संरचना र हस्पिटालिटीको दोस्रो तलासम्मको आकर्षक शैलीमा भने हतार गर्दै रातारात आज निर्माण सम्पन्न गरिएको छ । नेकपा (एमाले) को भोली शनिबार २५ र २६ गते हुने दोस्रो केन्द्रीय बैठक यहीँ बस्ने भएपछि यो घर भक्तपुरमा एकाएक चर्चामा आएको छ ।

एमालेको ३०१ जना केन्द्रीय सदस्यसहितको बैठक बस्ने १६ रोपनी क्षेत्रफलमा फैलिएको यो घरलाई जिवितै राख्दै आकर्षक रुपमा निर्माण गरिएको ‘जर्मन होम हस्पिटालिटी’ को पूर्णरुपको गुरुयोजना धमाधम निर्माण भइरहे पनि बैठक स्थल भने रातारात आकर्षक र सुन्दर शैलीमा निर्माण गरिएको छ । बैठकस्थलको तयारी र अबस्थाकाबारेमा एमाले केन्द्रीय सदस्य एवं सांसदद्धय महेश बस्नेत, राजिव पहारी, एमाले भक्तपुर जिल्ला कमिटी अध्यक्ष बचन देउजा, एमाले नेता किरण थापालगायतले आज अनुगमन गर्नु भएको छ ।

अनुगमनपछि प्रतिक्रिया दिदै सांसद बस्नेतले भोलीदेखि भक्तपुरमा शुरु हुने एमालेको केन्द्रीय बैठक स्थलको तयारी पुरा भएको बताउनुभयो । यहाँका व्यवसायीले भर्खरै शुरु गरेको व्यावसायिक क्षेत्रमा एमाले बैठक बस्ने भएपछि व्यवसायीले तीब्र गतिमा आकर्षक बनाएर तयारी पूरा गरेको उहाँले बताउनुभयो । सांसद बस्नेतले भन्नुभयो–राजधानीनै भए पनि भक्तपुर सधैँ आझेलमा पर्दै आएको थियो, तर पछिल्लो चार वर्षमा भक्तपुरको विकासले फड्को मारेपछि देशका ठूलो पार्टी एमालेको बैठक बस्ने मात्रै नभई ठूला गतिबिधिहरु चल्न थालेका छन, यहाँका व्यवसायीहरु उत्साहित भएका छन्, यसले भक्तपुरको पहिचान अझै बढाएको छ ।”

त्यसो त हाल ललितपुर निवासी सोमेन्द्र श्रेष्ठको जर्मन शैलीको यो घरलाई यहाँका बासिन्दाले जर्मन घरको नामले चिन्दै आएका थिए । स्थानीय बासिन्दा एवं एमाले भक्तपुरका अध्यक्ष बचन देउजाले भन्नुभयो, “मेरै घर अगाडि रहेको यो घरलाई सबैले जर्मन घर भन्ने गर्थे, जर्मन शैलीको घर, फराकिलो हरियाँ रुखको कम्पाण्ड, निकै राम्रो थियो, जर्मनमा व्यवसाय सञ्चालन गर्दै आएका र धेरै समय जर्मनमै बस्ने व्यवसायीको यो घरलाई अहिले यहाँका युवा व्यवसायीले भाडामा लिएर नयाँ संरचना थप्दै जर्मन होम बनाए पछि यहाँको विकासमा चमक थपिएको छ ।”

जर्मन होम हस्पिटालिटीका सञ्चालक रामशरण तिमिल्सिनाले २० वर्षभन्दा बढी समयका लागि जर्मन होम भाडामा लिएर काठमाडौं बिर्साउने गरी व्यवसायिक केन्द्र निर्माण शुरु गरेको बताउनु भयो । उहाँले भन्नुभयो, “जर्मन हाउस आफैँमा पनि आकर्षक छ, त्यसमाथि पनि भक्तपुरमा एउटा व्यापारिक हवको कमी भइरहेको अबस्थामा त्यसलाई पूरा गर्ने हामीले जमर्को गरेका छौँ, हाम्रो चाहनालाई यो ठाउँले पुरा गरेको छ, यहाँ अब काठमाडौंका ठूला मल भन्दा फराकिलो र ठूला व्यवसायीक एवं व्यापारिक केन्द्रको रुपमा विकास गर्दैछौ ।”

यहीँ ठाउँमा एमालेको बैठक बस्ने भए पनि रातदिन लगाएर बैठक स्थललाई थप आकर्षक बनाइएको छ । बैठक हलमा कुमारी, टल्किएका सेता हिमाल, भक्तपुरलगायत उपत्यकाका बिभिन्न सम्पदाहरुको सुन्दर पेन्टिङ र ढलौटका चम्किला मूर्तिहरुले बैठकको भित्री हल आकर्षक बनाएको भन्दै उहाँले बाहिरी सुन्दरतालाई पनि रातारात तयार पारेको बताउनु भयो । “हामी यहाँका भौतिक संरचनाहरु तयार पार्दै थियौँ, एमाले बैठक राख्नका लागि हामीलाई प्रस्ताव आयो, त्यो हाम्रा लागि अवसरको रुपमा रहयो र हामीले स्वीकार्यौ, आज रातभरि पनि काम गरेर सबै तयार पारेका छौँ, बैठक अबधीभर अरु निर्माणका काम रोक्ने छौँ, त्यसपछि फेरी बाँकी संरचना निर्माण जारी रहने छ । तत्काललाई बैठक स्थलमा ३०१ र बाहिर २०० जनाका लागि व्यबस्थापनको तयारी गरिएको छ, २००० जना क्षमताको दुई वटा कार्यक्रम स्थल निर्माण गर्दैछौं,” सञ्चालक तिमिल्सिनाले भन्नुभयो ।

झण्डै २० करोड भन्दा बढीको लागतमा १०० जना भन्दा बढीलाई प्रतक्ष्य रोजगारी दिनेगरी जर्मन होम हस्पिटालिटीसँगै सम्पूर्ण व्यापारिक केन्द्रको रुपमा सञ्चालन गर्ने गरी यहाँ भौतिक संरचनाहरु निर्माण भइरहेका छन् । आगामी नयाँ वर्षबाट पूर्ण रुपमा सबै व्यापारिक केन्द्र सञ्चालनमा आउने गरी तिब्रगतिमा भौतिक संरचना निर्माण भइरहेको उहाँले जानकारी दिनु भयो ।

सञ्चालक तिमिल्सिनाले भन्नुभयो, “हामी आकर्षक व्यापारिक केन्द्र र मल खोज्दै काठमाडौंँ धाउनु पथ्र्यो, अब पर्दैन, पूजाका सम्पूर्ण सामग्रीदेखि बैंक, बित्तिय संस्था, सपिङ सेन्टर, एमआरआई डाइग्नोस्टिक सेन्टरलगायतका स्वास्थ्य सेवा, बिभिन्न कम्पनीका गाडीका शो रुम, लत्ताकपडा, फर्निचर, दैनिक उपभोग्य सामाग्रीसहितको सपिङ मल, रेष्टुरेष्ट, नाइट क्लबसम्म सञ्चालन गर्ने गरि तयारी गरेका छौँ, भक्तपुरमा उपत्यकाकै फरक प्रकृतिको व्यापारिक कम्प्लेक्सका रुपमा यसको विकास गर्दैछौँ, यो शुरु भए पछि कुनै पनि सामानका लागि सपिङ मलहरु खोज्दै अब काठमाडौं जानु पर्दैन ।”

शान्त वातावरण, पारिवारिक एवं मनोरम स्थल, हाइजेनिक खाना, आकर्षक शैलीको भवन, विदेशी पर्यटकलाई समेत आकर्षित गर्दै नगरकोट धुलिखेल जानु अघि या फर्कदा यहाँ बसेर ब्रेकफास्ट, लन्च लिने सकिने, यहाँ एकछिन रमाउन सकिने गरि व्यबस्थापन गर्न लागेको बताउदै उहाँले भक्तपुरका लागि यो एउटा उदाहरणीय व्यापारिक केन्द्र बन्ने बताउनु भयो ।

कोरोना भाइरसको महामारीका बिच कतिपय व्यापारिक केन्द्रहरु बन्द भइरहेको अबस्थामा भक्तपुरका पाँच व्यवसायीहरुले भने मासिक झण्डै रु. २० लाख भाडा तिरेर २० वर्षभन्दा बढी समयका लागि ठूलो रकम लगानी गरेर व्यापारिक केन्द्रको शुरुवात गरेका छन् । सञ्चालक तिमिल्सिनाले भन्नुभयो, “महामारीको जोखिम त छदैछ, तर त्यसलाई सम्झेर सबै रोक्न र रोकिनु हुदैन, महामारीले अवसर पनि ल्याएको छ भन्ने हामील सम्झिएका छाँै, त्यसैले ठूलो लगानीमा जोखिम मोलेका हौँ ।”

आफूले रोजेको परिकार खान, रोजेको सामान किन्न, केहीबेर पारिवारिक मनोरञ्जन गर्न यहाँका बासिन्दा लामो सडक जाम छिचोल्दै काठमाडौंँ जाने गरेकाले अब त्यसको अन्त्य गर्न भक्तपुरमा व्यापारिक केन्द्र शुरु गरेको हो । काठमाडौंबाट आउँदा सल्लाघारीसम्म पुग्दा राम्रो र आकर्षक हस्पिटालिटी नरहेकाले यस तर्फ पनि लगानी गरेको बताउदै उहाँले २० वर्ष पछाडिका युवा पुस्ताको भावनासमेत बुझेर व्यापारिक केन्द्र निर्माण गरेको सञ्चालकको भनाइ छ ।

अरनिको राजमार्गसँगै जोडिएको यस स्थलमा जो कोही रमाउन सक्ने, वातावरण मैत्री, फोटोहरु लिन सक्ने, प्रशस्त पार्किङ्ग त छदैँछ, हस्पिटालिटीमा नेवारी परम्परागत रुपमा भोज खाने गरि जर्मन होमको माथिल्लो तलालाई ‘बुइगल नेवारी भ्वयः छेँ ’ समेत बनाइएको छ । नेवारी सुकुल भोजको परम्परा लोप हुदैँ गएको अबस्थामा यसको संरक्षण गर्न सम्पूर्ण नेवारी परिकार पाउने गरि नेवारी भ्वयः छेँ तयार गरिएको सञ्चालक तिमिल्सिना बताउनु हुन्छ ।

सरकारले व्वयवसाय गर्नसक्ने वातावरण बनाइदिए अहिलेका युवा पुस्ताले जमिन भाडामै लिएर पनि राम्रो व्यवसाय सञ्चालन गर्न सक्छन् भन्ने सन्देश पनि प्रवाह गर्न खोजेको छ । यहाँका युवा व्यवसायी तिमिल्सिनासँगै थानेश्वर बस्याल, प्रविण श्रेष्ठलगायत पाँच जनाले संयुक्त लगानी गरेका छन् ।