जनता टाइम्स

२४ मंसिर २०७८, शुक्रबार १५:३७

एमालेको समृद्ध नेपाल, सुखी नेपालीको नारा कपी गरेछन, अलिकति यताउता गरे पनि यो राम्रै कुरा हो : ओली


काठमाडौं, २४ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेले देश र जनताको उन्नतिका लागि ल्याउने राष्ट्रिय नारा र गन्तव्यलाई अन्य दलले शब्द यताउति गरेर कपी गर्ने गरेको बताउनुभएको छ । एमाले वागमती प्रदेश कमिटीले दशौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित नेतृत्वलाई बधाइ दिन आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेले लिएको सम्बृद्ध नेपाल, सुखी नेपालीको नारा मुलुकको राष्ट्रिय गन्तव्य रहेको बताउनुभयो ।

अध्यक्ष ओलीले भन्नुभयो, ‘हामीले समृद्ध नेपाल,सुखी नेपाली भन्यौं । अलि–अलि शब्द यताउता पारेर सम्मानित नेपाली पो हुनुपर्छ भनेर केही अर्काथरीले पनि कपी गरेछन् । हिजो हामीले आफ्नो गाउँ आफैं बनाउँ भन्ने लहर चलायौं । त्यसपछि अनेक कालमा नाम परितर्वन गर्दै कपी गर्न खोजियो । गाउँ-गाउँमा सहकारी, घर–घरमा भकारी यस्तै-यस्तै ।’ तर एमालेले लिने नारा भनेको राष्ट्रिय गन्तव्य हो ।

कांग्रेस नेता गगन थापाले एमाले सरकारले अघि बढाएको नारा कपी गर्दै आफ्नो ढंगले परिभाषा दिनुभएको थियो । थापाले समुन्नत नेपाल सम्मानति नेपाली भन्ने नारासहित महामन्त्रीमा आफ्नो उम्मेद्वारीस्हित अवधारणा सार्वजनिक गरेको बिषयलाई ओलीले उठान गर्नुभएको हो । एमाले अध्यक्ष ओली नेतृत्वकै सरकारले अघि सारेको सम्बृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय गन्तव्यभित्र राष्ट्रियताको प्रश्न, लोकतन्त्रको प्रश्न, सामाजिक न्याय र समानताको प्रश्न सबै समेटिएको छ ।