काठमाडौं, मंसिर २५ । नेपाली कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल संस्थाप इतर पक्षबाट सभापतिमा साझा उम्मेदवार बन्न नसकेपछि दौडबाट बाहिरिने हुनुभएको छ । १३औँ महाधिवेशनमा शेरबहादुर देउवासँग पराजित भएका पौडेल १४औँ महाधिवेशनमा संस्थापन इतरबाट साझा उम्मेदवार भएर हारको बदला लिने रणनीतिमा रहे पनि आफ्नै समुहमा सहमति नभएपछि यस्तो निश्कर्षमा पुग्नुभएको हो ।
संस्थापन इतरबाट सभापतिमा साझा उम्मेदवार खडा गर्ने समझदारीले आकार लिन नसकेपछि पौडेल सभापतिमा लड्ने सम्भावना झिनो बन्दै गएको हो । किन कि सभापतिका आकांक्षी शशांक कोइरालाले तीन दिन अघि नै ‘रामचन्द्र दाइका लागि सभापतिबाट पछि हट्ने’ बताउनु भएको थियो । तर, यसबीचमा पनि संस्थापन इतरबाट साझा उम्मेदवारमा सहमति जुट्न सकेको छैन ।
पूर्वमहामन्त्री प्रकाशमान सिंह, महामन्त्री शशांक कोइराला र नेता शेखर कोइरालाले सभापतिमा दाबी गरिरहनु भएको छ । सिंह अवधारणासहित आजै सभापतिमा उम्मेदवारी दर्ता गर्ने तयारीमा हुनुहुन्छ । शेखर पनि सामाजिक सञ्जालमा ‘एक पटक, यसै पटक’ भन्दै प्रचार अभियानमा छन् । अब सभापतिमा इतरबाट प्रकाशमान र शेखर सभापति प्रतिस्पर्धामा आउने देखिन्छ ।
देउवालाई सिटौलापछि श्रेष्ठको साथ
१३औँ महाधिवेशनबाट सभापति निर्वाचित भएका देउवा पुनः सभापतिको दाबेदारीमा हुनुहुन्छ । इतर पक्ष उपगुटमा चुनाव लड्ने माहोल बनेपछि उहाँले आफूलाई अनुकुल महसुस गर्नुभएको छ । देउवालाई नेता कृष्णप्रसाद सिटौलाले साथ दिइसक्नु भएको छ । यसअघि आफू पनि सभापतिको आकांक्षी बताउँदै आएका नेता गोपालमान श्रेष्ठले देउवालाई साथ दिने घोषणा गर्नुभएको छ । श्रेष्ठ देउवाका विश्वासपात्र मानिन्छन् ।
देउवा खेमाबाट उपसभापति विमलेन्द्र निधि सभापतिमा अघि सर्दा श्रेष्ठले दाबेदारी प्रस्तुत गरिरहनु भएको थियो । तर, निधि देउवा खेमाबाट आउट भएपछि श्रेष्ठले देउवालाई नै साथ दिनुभएको हो । शुक्रबारबाट सुरु भएको कांग्रेस महाधिवेशनमा नयाँ नेतृत्वका लागि आज मनोनयन दर्ताको कार्यतालिका छ । निर्वाचन भने सोमबार हुनेछ ।













प्रतिक्रिया दिनुहोस्