काठमाडौं, २७ मंसिर । कांग्रेसको नयाँ नेतृत्व चयनका लागि सोमबार बिहान भृकुटीमण्डप र राष्ट्रिय सभा गृहमा रहेका मतदान केन्द्रमा मतदान सुरु भएको छ । बिहान ८ बजेदेखि मतदान सुरु हुने निर्वाचन कार्यतालिका भए पनि ३ घण्टा ढिलागरी मतदान सुरु भएको हो । कांग्रेसका पाका नेता कुलबहादुर गुरुङले पहिलो भोट खसालेसँगै मतदान प्रक्रिया सुरु भएको हो ।
नेतृत्व चयनका लागि ४ हजार ७ सय ४३ महाधिवेशन प्रतिनिधिले सोमबार मतदान गर्दै छन् । उनीहरूको मतबाट सभापति, २ उपसभापति, २ महामन्त्री, ८ सहमहामन्त्रीसहित १३ पदाधिकारी र १ सय २१ सदस्य निर्वाचित हुनेछन् । यही टिमले आगामी तीन तहका निर्वाचनमा कांग्रेसको नेतृत्व गर्नेछ भने पाँच वर्षसम्म नेपाली राजनीतिलाई प्रभावित गर्नेछ ।शीर्षस्थ नेतृत्वका लागि शेरबहादुर देउवा र शेखर कोइरालाबीच मुख्य प्रतिस्पर्धा देखिएको छ । तर प्रकाशमान सिंह र विमलेन्द्र निधिको उम्मेदवारीले प्रतिस्पर्धालाई पेचिलो बनाएको छ । सभापतिका कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत कटाउन नसकेमा शीर्ष दुईबीच प्रतिस्पर्धा हुनेछ । त्यसैले सिंह र निधि पहिलो चरणलाई अनिर्णीत बनाउन सके दोस्रो चरणमा आफूहरूको भूमिका सार्थक हुनेमा आशावादी छन् । राष्ट्रिय सभागृहमा पार्टी केन्द्रीय कार्यसमिति, जनसम्पर्क समिति, भातृ र शुभेच्छुक संघसंस्था, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका मतदाताले मतदान गर्नेछन् ।
निर्वाचनमा २९ प्रकारका मतपत्रको व्यवस्था गरिएको छ भने सबै मतपत्रका लागि छुट्टाछुट्टै मतपेटिकाको व्यवस्था गरिएको छ ।महाधिवेशनबाट सभापति दुई जना उपसभापति, दुई जना महामन्त्री, आठ जना सहमहामन्त्री निर्वाचित हुनेछन् । केन्द्रीय समितिमा विभिन्न क्लस्टरबाट १२१ जना निर्वाचित हुनेछन् । मतदानका लागि ४ हजार ७ सय ४३ जना प्रतिनिधिको नामावली सार्वजनिक भएको छ ।













प्रतिक्रिया दिनुहोस्