काठमाडौं, मंसिर २८ । विधान संशोधनदेखि कार्यशैली सुधारको प्रतिबद्धतापछि शेरबहादुर देउवालाई आफूले समर्थन गरेको नेता प्रकाशमान सिंहले जानकारी दिनुभएको छ । नेपाली कांग्रेसको जारी १४औँ महाधिवेशनमा सभापतिका लागि हुने दोस्रो चरणको मतदानमा सभापतिका प्रत्यासी सिंहले देउवालाई समर्थन गर्ने हुनुभएको हो ।
पहिलो चरणको निर्वाचनमा कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसकेपछि दोस्रो चरणको निर्वाचनमा जाने क्रममा सिंहले देउवालाई समर्थन गर्ने निर्णय गर्नुभएको हो । सिंह निवास चाक्सीबारीमा मंगलबार बिहान पुगेका देउवाले विधान संशोधन गर्न, कमीकमजोरी सच्याउन, कार्यशैली सुधार गर्ने प्रतिबद्धता जनाएपछि आफ्नो प्यानललाई उनलाई समर्थन गर्ने निर्णय गरेको सिंहले जानकारी दिनुभयो ।
‘हामीबीचको छलफलमा उहाँ (देउवा)ले विधान संशोधन गर्न, कमीकमजोरीप्रति सल्लाह गरेर सुधार्न, कार्यशैली सुधार्ने वचन दिनुभएको छ,’ सिंहले भन्नुभयो, ‘उहाँको सो प्रतिबद्धतापछि म, सुजाता कोइरालासहितले उहाँलाई समर्थन गर्ने निर्णय गरेका छौँ ।’ सिंहको समर्थनसँगै देउवा सभापतिमा निर्वाचित हुने सम्भावनालाई बलियो बनाएको छ ।
पहिलो चरणमा देउवाले २२५८, शेखर कोइलालो १७०२, प्रकाशमान सिंहको ३७१, विमलेन्द्र निधिको २५० र कल्याण गुरुङले २२ मत ल्याउनु भएको थियो । पहिलो चरणको निर्वाचनमा कुल मत ४६७९ मत खसेको थियो भने ७६ बदर भएको थियो ।













प्रतिक्रिया दिनुहोस्