जनता टाइम्स

२९ मंसिर २०७८, बुधबार १२:३२

भण्डारी दम्पती जो दैनिक पाँच सय कप चिया बेच्छन्


जुम्ला, २९ मंसिर । चन्दननाथ नगरपालिका–२ का ६७ वर्षीय काशीराम भण्डारीले चिया पसलबाटै मनग्ये आम्दानी गरिरहेका छन् । भण्डारी दम्पतीले झन्डै २० वर्षदेखि चिया पसल सञ्चालन गर्दै आएको छ । उनीहरू नगरपालिकामै प्रेरणाको स्रोत बन्नुभएको छ । चिया पसलको कमाईबाटै उहाँले छोरीलाई अनमी पढाउनुभएको छ ।

उहाँको पसलमा चिया खान ग्राहकको भिड लाग्ने गरेको छ । एक दिनमा पाँच सयभन्दा बढी कप चिया बिक्री हुने गरेको भण्डारीले बताउनुभयो । चिया खान ग्राहकहरू झिसमिसेमै आउने गरेको उहाँ बताउँनुहुन्छ । दैनिक ६० लिटर बढी दूधको चिया पकाउने गरिएको उहाँले सुनाउनुभयो । चिया पसलको कमाईबाटै स्याउ बगैंचा स्थापना गरेको भण्डारीले बताउनुभयो ।

बगैंचामा उत्पादित स्याउबाट वर्षेनी एकदेखि डेढ लाख रुपैयाँ आम्दानी हुने गरेको उहाँको भनाइ छ । पछिका लागि भनेर भण्डारी दम्पतीले दैनिक एक सय ५० रुपैयाँ बचत गर्ने गरेका छन् । चिया पसलको कमाईले कान्छी छोरीलाई अनमी पढाएको र अन्य छोराछोरीलाई पनि सहयोग गरिरहेको देवीकन्या भण्डारीले बताउनुभयो ।