जनता टाइम्स

२ पुष २०७८, शुक्रबार १७:५८

सहमहामन्त्रीमा देउवा पक्षको वर्चश्व


काठमाडौं, २ पुस । नेपाली कांग्रेसको सह महामन्त्री पदमा सभापति शेरबहादुर देउवा पक्षले वर्चश्व कायम गरेको छ । उपसभापति र महामन्त्रीमा मिश्रित परिणाम आएका बेला आठ सहमहामन्त्रीमा देउवा पक्षले ६ वटा आफ्नो पक्षमा पारेको हो । केन्द्रीय निर्वाचन समितिले शुक्रबार सार्वजनिक गरेको अन्तिम मतपरिणाममा डा. शेखर कोइराला पक्षबाट सहमहामन्त्रीमा दुई जना निर्वाचित हुनुभएको छ ।

सहमहामन्त्रीको मतगणना बिहीबार साँझदेखि सुरु भएको थियो । बिहीबार राति महिला, आदिवासी जनजाति र दलिततर्फको मतगणना सकिएको थियो । जसमा देउवा पक्षबाट महालक्ष्मी उपाध्याय (डिना), भीष्मराज आङ्देम्बे र कोइराला पक्षबाट जीवन परियार निर्वाचित हुनुभएको थियो ।

बाँकी पाँच सहमहामन्त्री पदमा आज विहानदेखि जारी मतगणनामा चारमा देउवा पक्ष र एकमा कोइराला पक्षका उम्मेदवार विजयी हुनुभएको हो । आज साँझ प्राप्त मतपरिणामअनुसार मधेसीतर्फ महेन्द्र यादव, मुश्लिमतर्फ फरमुल्ला मन्सुर, खसरआर्यतर्फ किशोर राठौर, थारुतर्फ उमाकान्त चौधरी निर्वाचित हुनुभयो । सबै देउवा समूहबाट हुनुहुन्थ्यो ।

त्यसैगरी पिछडिएको क्षेत्रतर्फ बद्री पाण्डे निर्वाचित हुनुभयो । कोइराला खेमाका पाण्डेले देउवा प्यालनबाट कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीलाई पराजित गरेको निर्वाचन समितिका प्रवक्ता जगन्नाथ श्रेष्ठले जानकारी दिनुभयो । उहाँकाअनुसार सहमहामन्त्रीको मतगणना सकिएसँगै अब निर्वाचन समितिको बैठक बसेर आजै राति केन्द्रीय सदस्यको मतगणना सुरु गर्ने तयारी छ ।