काठमाडौं, पुस २ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले तात्कालिन राजा ज्ञानेन्द्र र माओवादी अध्यक्ष पुष्पकमल दाहाm, प्रचण्डबीच भएको संझौतालाई तात्कालिन माओवादीको बक्तब्यले नै पुष्टि गरिसकेको बताउनु भएको छ । एमाले महासचिवमा निर्वाचित भएपछि आज आयोजित पहिलो पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोखरेलले एमाले अध्यक्ष केपी शर्मा ओलीले तथ्यका आधारमा नै ज्ञानेन्द्र–प्रचण्डबीचको सहमति उजागर गर्नुभएको प्रष्ट पार्नुभयो ।
‘तात्कालिन राजा ज्ञानेन्द्र र प्रचण्डका बीचमा सहमति भएको कुरा त २०६१ माघ १९ को ‘कू’ पछि माओवादी पार्टीको तर्फबाट आएको आधिकारिक बिज्ञप्तीले नै स्वीकार गरिसकेको छ, यो विषय त म के ठान्छु भने तपाइहरुजत्तिको अनुसन्धान गर्ने, स्रोतमा पहुँच राख्ने साथीहरुले त्यही कुरा बाहिर ल्याइदिनुभयो भने सवै प्रष्ट हुनेछन,’ एमाले केन्द्रीय कमिटीको निर्णय सार्वजनिक गर्न केन्द्रीय प्रचार बिभागले आयोजना गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले भन्नुभयो ।
उहाँले एमाले अध्यक्षले तथ्यको आधारमा घटनाको उजागर गर्नुभएको भन्दै अव मिडियाले थप खोजविन गर्नुपर्ने बताउनु भयो । ‘राजनीतिक दलभित्र एकले अर्कालाई भनिरहने भन्दा पनि आधार हामीले प्रदान गरेका छौं, तथ्यहरु यथेष्ट छन, त्यसलाई खोजेर थप प्रमाणित गर्ने कुरा तपाईं खोजमुलक पत्रकारिता गर्ने सञ्चार क्षेत्रकै हो भन्ने लाग्छ,’ महासचिव पोखरेलले भन्नुभयो । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको बिषयमा अध्यक्ष ओलीले भन्नुभएको कुरा तथ्यमै आधारित रहेकोले कुनै आरोप नभएको उहाँको भनाई छ ।
एमाले अध्यक्ष ओलीले मंसिर २९ गते आयोजित मनोनीत केन्द्रीय सदस्यहरुको सपथग्रहणमा २०६१ मंसिर १८ गते तात्कालिन राजा ज्ञानेन्द्र र प्रचण्डका बीचमा ५ बुँदे सहमति भएको बताउनु भएको थियो । पोखरेलले तात्कालिन समयमा माओवादीले जारी गरेको बक्तब्य अध्ययन गर्न पनि सुझाउनु भयो ।
‘हामी पुराना कुरा बिर्सन्छौ, माघ १९ को घटना पछाडि माओवादीका तर्फबाट आधिकारिक रुपमा सार्वजनिक गरिएको वक्तव्यले नै त्यो कुरालाई संकेत गरेको छ, त्यो हामीले बताइरहनुपर्ने विषय होइन,’ पोखरेलले भन्नुभयो । उहाँले डा बाबुराम भट्टराई र प्रचण्डका बीचमा भएको अन्तरकलहमा पनि त्यो विषय सार्वजनिक भइसकेको प्रष्ट पार्नुभयो ।













प्रतिक्रिया दिनुहोस्