जनता टाइम्स

२ पुष २०७८, शुक्रबार १८:४२

कर्णालीका मुख्यमन्त्री जीवन शाही पराजित


काठमाडौं, पुस २ । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही नेपाली कांग्रेसको महाधिवेशनमा पराजित हुनुभएको छ । पीछडिएको क्षेत्रका लागि सहमहामन्त्रीमा उम्मेदवारी दिनुभएका मुख्यमन्त्री शाही बद्री पाण्डेसँग पराजित हुनुभएको हो ।

पाण्डे सभापतिमा पराजीत डा. शेखर कोइराला समुहबाट उम्मेद्वार बन्नुभएको हो भने शाहीले सभापति शेरबहादुर देउवा प्यानलबाट उम्मेदवारी दिनुभएको थियो । पूर्वपर्यटन तथा संस्कृति उड्डयनमन्त्रीसमेत रहेका शाही पार्टीमा केन्द्रीय सदस्य हुनुहुन्थ्यो ।

आज सार्वजनिक भएको मतपरिणाम अनुसार पाण्डेले २ हजार ४ सय ११ मत ल्याउँदा शाहीले २ हजार १ सय ३३ मत मात्र पाउनु भयो । सहमहामन्त्रीका अर्का उम्मेदवार चेतराज बजाल भने ९९ मतमै सीमित हुनुभएको छ ।

पार्टी कार्यालय सानेपामा भएको पदाधिकारीको मतगणना अन्तिम चरणमा पुगेको छ । शेरबहादुर देउवाको नेतृत्वमा सत्ता गठबन्धनसँगै कर्णाली प्रदेशमा माओवादी केन्द्रका महेन्द्रबहादुर शाहीको सट्टामा कांग्रेसका जीवनबहादुर शाही कात्तिक दोस्रो साता मुख्यमन्त्री बन्नुभएको थियो ।