जनता टाइम्स

३ पुष २०७८, शनिबार २०:३२

३५ खुला केन्द्रीय सदस्यको मतगणनामा ११ मा शेखर पक्षको अग्रता


काठमाडौं, पुस ३ । नेपाली कांग्रेसको जारी खुला तर्फका केन्द्रीय सदस्यको मतगणनामा शेखर कोइराला पक्षका ३५ मध्ये ११ जनाले अग्रता लिएका छन । शनिबार पार्टी कार्यालय सानेपामा जारी मतगणनामा सभापतिमा पराजित कोइराला पक्षका ११ जना ३५ जनाभित्र रहेरका हुन् यद्पी मतगणना जारी रहेको छ ।

शेखर पक्षका उम्मेदवार शशांक कोइराला शीर्ष स्थानमा छन् । उहाँलाई शेरबहादुर देउवा पक्षले पनि आफ्नो उम्मेदवार बनाएको थियो । त्यस्तै शेखर पक्षका अर्जुननरसिंह केसी ५८६ मतसहित आठौं स्थानमा रहेका छन् । यस्तै, डा रामशरण महत ५२९ मतसहित १३औं स्थानमा रहेका छन् ।

यस्तै दिलेन्द्र बडु ५१३ मतसहित १८औं, दीपक गिरी ४६२ मतसहित २१औं र डा गोविन्द पोखरेल ३६४ मतसहित २७औं स्थानमा रहनुभएको छ । अजयबाबु सिवाकोटी, गणेश लामा, दिनेश कोइराला, बीरेन्द्र कनोडिया र सञ्जय गौतमले ३५६ मत ल्याउनु भएको छ । सिवाकोटी, कोइराला र गौतम शेखर पक्षका हुनुहुन्छ । केन्द्रीय सदस्य खुलातर्फ ३५ पदका ९९ जना प्रतिस्पर्धामा छन् ।