मुगु, ४ पुस । हुम्लाका एक युवकलाई केटी पक्षका आफन्तले अन्तर जातीय विवाह गरेकै कारण कुटपिट गरी बेपत्ता बनाएको आरोप लगाएका छन् । हुम्ला सर्केगाड गाउँपालिका–१ को जैर गाउँका १९ वर्षीय चन्द्रे कामीले मुगु सोरु गाउँपालिका–४ स्थित लिप्र गाउँकी १९ वर्षीया सुन्तली मल्लसँग एक महिना अगाडि भागी विवाह गरे । तर, केटीका आफन्तले कुटपिट गरी युवकलाई बेपत्ता बनाएको आरोप लागेको छ ।
गत २९ मंसिरमा केटी पक्षका आफन्तले कामीको घरमै पुगेर चन्द्रे र सुन्तलीलाई माइती घरमा ल्याएर कुटपिट गरी बेपत्ता बनाएको युवकका परिवारले आरोप लगाएका छन् । ठकुरीकी छोरीसँग कामीको छोराले विवाह गरेको भन्दै युवती पक्षले छोरालाई निर्घात कुटपिट गर्नुका साथै तीनदिनदेखि बेपत्ता पारेको आरोप चन्द्रेका बुवा धनजय कामीले लगाउनुभएको हो । केटी पक्षका मान्छे आएर छोरा र बुहारीलाई लिएर गएको र तीन दिनदेखि छोरा सम्पर्कविहीन रहेको उहाँको भनाइ छ ।
तर, सुन्तली भने गाउँमै भेटिएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जानकारी दिएको छ । युवकको भने खोजी भइरहेको हुम्ला जिल्लाका प्रहरी नायव उपरीक्षक हेरम्ब शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार घटनाको जानकारी आउने बित्तिकै खोजीकार्य थालिएको हो । गत ५ मंसिरमा चन्द्रे र सुन्तलीले भागी विवाह गरेका थिए ।
२९ मंसिरमा केटी पक्षमा मान्छे आएर बुहारी र छोरालाई लिएर गएको धनजय कामीले बताउनुभयो । छोराबुहारी लैजाने क्रममा आफूहरूमाथि दुर्व्यवहार भएको उहाँले गुनासो गर्नुभयो । छोरा र बुहारीलाई अपहरण र कुटपिट गरेपछि आफुले १ पुसमा प्रहरीलाई जानकारी गराएको उहाँले बताउनुभयो । छोरीलाई घरमा राखेर केटालाई बेपत्ता बनाएको आफुले जानकारी पाएको सर्केगाड–१ का वडा अध्यक्ष गोकुल बुढाले बताउनुभयो ।













प्रतिक्रिया दिनुहोस्